
दक्षिण कोरियामा आजभोली लक्ष्मी गुरुङको दैनिकी फेरिएको छ । सुकुटीको अचार बनाउने, प्याक गर्ने र माग अनुसार विभिन्न ठाउँमा थेग्वे (कुरियर) गरिदिने उनको दैनिकी जस्तै बनेको छ । कहिले बंगुरको सुकुटी त कहिले खसिको सुकुटी बनाउदैमा लक्ष्मीलाई अरु सँग बोल्ने फुर्सद छैन् ।दैनिकी ५० बढिलाई अचार बनाएर थेग्वे (कुरियर) गरिदिनु पर्छ ।यस बाट आम्दानी पनि बढ्दै गएको छ। दक्षिण कोरियामा करिब २ दशक देखि बसोबस गर्दै आएकि लक्ष्मी गुरुङको एउटा रेष्टुरेन्ट संचालनमा छ । राजधानी सौलको तुङदेमुन स्थित धेरै नेपाली रेष्टुरेन्ट मध्ये सँधै भिडभाड हुने एउटा रेष्टुरेन्ट हो, लक्ष्मीको पुजा रेष्टुरेन्ट ।
नेपाली स्वादका परिकारहरु खान पाइने उक्त रेष्टुरेन्टको सुकुटी अचार अहिले चर्चामा छ । लक्ष्मी आफैले बनाएको उक्त सुकुटी अचार दक्षिण कोरियाका बिभिन्न शहरमा बस्ने नेपाली समुदाय समक्ष थग्वे (कुरियर) मार्फत पुग्छ । अचार चाहिए खातामा पैसा जम्मा गरिदिए सुकुटीको अचार सँगै टिम्मुर र मुलाको अचार पनि ठाँउमै पुग्छ ।

अचारको मुल्य कोरियन १५ हजार वोन पर्छ । सुकुटी अचारमा स्पेशल नेपाली मसला,लसुन,अदुवा आदि मिसावट हुन्छ । सामाजिक सञ्जालमा उनले बनाएका सुकुटी अचारका परिकारहरुका फोटा प्रंससा गर्दै नेपालीहरुले पोष्ट गरेको देख्न सकिन्छ । दाल पकायो दुइ पिस अचार राख्यो खायो छिटो मिठो भयो भनेर धेरै माग आइरहेको छ लक्ष्मी भन्छिन् ।

विदेशी भूमिमा नेपाली स्वादका परिकारहरु खान पाउदा नेपालीहरु पनि मख्खै हुने गर्छन् । करिव ४० देखि ४५ हजार नेपालीहरु कार्यरत रहेको दक्षिण कोरियामा कहिले काहीँ नेपाली स्वादको माग हुने गर्छ ।यसका अलवा सेलरोटी समेत उनी माग अनुसार बनाएर कुरिएर गरिदिन्छिन । गैर आवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष भइसकेकी लक्ष्मी सुकुटी अचार आफै बनाउछिन् । नेपाली कुक पनि राखेकी छु तर अचार म आफै बनाउछु लक्ष्मी भन्छिन् । धेरैले मिठो भयो भन्नुहुन्छ अहिले माग पनि बढेको छ उनी भन्छिन् ।

यो सामान्य भान्साको काम हो, कामलाई सानो ठुलो मतलब नै हुदैन, हामी श्रमको सम्मान हुने देशमा छौ लक्ष्मी भन्छिन् । नेपालीहरु शनिबार या आइतबारको विदामा नेपाली स्वादका परिकारहरु चाख्न जाने ठाउँहरु खोज्दै सौल स्थित तुङदेमुन क्षेत्रमा रहेका नेपाली रेष्टुरेन्टहरु पुग्छन् । जँहा नेपाली परिकारहरु खान पाइन्छ । प्राय सबै रेष्टुरेन्टहरुले बनाउने परिकारहरु यहाँ उस्तै – उस्तै हुन् लक्ष्मी भन्छिन् । समौसा,चाउमिन,सेकुवा,भुटन,सेलरोटी,जेरि,पुरी मःम देखि दाल भात पनि मज्जाले खान पाइन्छ । नेपाली रेष्टुरेन्टहरु दक्षिण कोरियामा पछिल्लो समय बढदै गएका छन्।