
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकहरूलाई बसोबासका लागि दिइने नयाँ ग्रीन कार्ड अहिलेका लागि स्थगित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।तर यसमा केही छुटको व्यवस्था पनि छ ।
ट्रम्पका अनुसार ग्रीन कार्ड दिने काम ६० दिनका लागि स्थगित गरिएको छ तर त्यसपछि पनि त्यो अवधि लम्बिन सक्छ ।कोरोनाभाइरसका कारण अर्थतन्त्र प्रभावित भएको बेला अमेरिकी नागरिकको रोजगारी संरक्षण गर्न उक्त कार्यकारी आदेशको उद्देश्य भएको ट्रम्पको दाबी छ ।
यो आदेशबाट ग्रीनकार्डधारी व्यक्तिहरूले आफ्नो परिवारका अन्य सदस्यलाई अमेरिकामा स्थायी बसोबास गर्न आर्थिक दायित्व वहन गर्ने परम्परा रोक्ने अपेक्षा गरिएको छ ।
ट्रम्पले यो परम्परालाई आप्रवासनको साङ्लो भन्दै गरेका छन् ।
तर अमेरिकी नागरिकका पतिपत्नी वा २१ वर्षमुनिका अविवाहित छोराछोरीलाई भने नयाँ आदेशबाट प्रभाव पर्नेछैन । यो आदेशबाट डाइभर्सिटी भिसा (डीभी) लटरी पनि स्थगित भएको बिबिसीले जनाएको छ ।
प्रत्येक वर्ष उक्त कार्यक्रमबाट ५०,००० जनालाई ग्रीनकार्ड दिने गरिन्थ्यो । अमेरिकामै बसेर ग्रीन कार्डका लागि आवेदन दिएका हजारौँ विदेशी नागरिकलाई पनि उक्त आदेशबाट कुनै फरक पर्नेछैन । स्वास्थ्यसेवामा काम गर्ने उद्देश्यले अमेरिका जान खोजेका चिकित्सक, नर्स र अन्य व्यक्तिलाई पनि छुट छ । अस्थायी भिसा लिएर आउन खोज्ने कृषि श्रमिक र अन्य क्षेत्रमा सीप भएर एच वनबी भिसा कार्यक्रमबाट आउन निवेदन दिने हजारौँ व्यक्तिलाई पनि यसबाट कुनै प्रभाव पर्नेछैन।