
कोभिड- १९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ। त्यसबेला उनीहरूको मृत्युमा शोक व्यक्त गर्ने आफन्तहरू साथमा हुदैँनन्।ती दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन्।
त्यसले पोस्टमोर्टमबाट रोग फैलनसक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्नसक्ने सम्भावनाको डर पैदा गरिदिएको छ।के मृतकको शरीरले कोभिड- १९ फैलाउन सक्छ? अन्तिम संस्कार गर्नु सुरक्षित छ कि छैन? अनि शवलाई जलाउनु ठीक कि गाड्नु?विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार यदि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड-१९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन।
यो रोग लगाउने सार्स-कोभ-२ भाइरस विशेषगरी मानिसहरूले निकाल्ने थुक वा र्याल जस्ता कुराका छिटाहरूबाट सर्छ। बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन्।अनि कतिपय कडा सतहहरूमा यी भाइरस केही दिनसम्म जीवित रहन सक्छन्।
“आजका दिनसम्म मृतकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन,” यसै महिनाको सुरुवातमा भएको एउटा पत्रकार सम्मेलनमा पान-अमेरिकन हेल्थ अर्गनाइजेसनका एकजना प्रवक्ता विलियम अडुक्रोले भनेका थिए।”त्यसो भन्दैमा हामीले यो सर्दैन भन्न खोजेका होइनौँ।
तपाईं मृतकलाई एकदमै प्रेम गर्नुहुन्छ त्यसैले चुम्बन गर्न वा अन्य त्यस्तै गर्न चाहनुहुन्छ। हामीले अझै पनि रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ,” उनले भने।डब्लूएचओले गत मार्चमा जारी गरेको एउटा निर्देशिकामा रक्तस्राव हुनेखालका ज्वरोहरू (इबोलाजस्ता) र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट सङ्क्रमण नहुने उल्लेख छ।त्यसमा भनिएको छ, “यदि महामारीयुक्त इन्फ्लुएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई चिरफारका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्न सक्छ। अन्यथा शवबाट रोग सर्दैन।”
तर कडा खाले श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अङ्गहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन्।चिरफारका बेला ती भाइरसहरू बाहिर आउन सक्छन्। त्यसमा प्रयोग भएका उपकरणहरूमा पनि ती बस्न सक्छन्।कोभिड-१९ लागेर ज्यान गएकाहरुका मृतकका आफन्त र साथीहरुले के विचार गर्नु जरुरी छ भने शव गाड्ने वा जलाउने कार्य सुरक्षितरूपमा व्यवसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ । बिबिसी बाट