
उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएकाेे बिबिसीले जनाएको छ ।
उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेका थिए ।
उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए ।यसअघि उनी १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका थिए । लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए ।
खासगरी अमेरिकी अधिकारीहरुले उनी कोमामा गएको दाबी गरेका थिए । तर, दक्षिण कोरियाली नेताहरुले भने किम जोङ्ग उन गम्भीर रुपमा बिरामी भएको कुरा सत्य नभएको बताउँदै आएका थिए ।
१५ अप्रिलमा हजुरबुवा (उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ्ग) को जन्मदिनको समारोहमा उपस्थित नभएपछि किम जोङ्ग उनबारे चासो बढेको थियो । उत्तर कोरियामा किम इल सुङ्गको जन्मदिनमा सबैभन्दा ठूलो समारोह आयोजना गरिन्छ, तर त्यही कार्यक्रममा किम जोङ्ग उनको अनुपस्थितिलाई लिएर अड्कलबाजी सुरु भएको थियो ।
सरकारी मिडियाहरुले १२ अप्रिलमा लडाकु विमानहरुको निरीक्षण गरिरहेको किम जोङ्ग उनको तस्वीर सार्वजनिक गरेका थिए । सोही दिन उनले पार्टीको बैठकको अध्यक्षता गरिरहेको तस्वीर पनि सार्वजनिक भएको थियो । त्यसपछि उनी कतै देखिएका थिएनन् ।
दुई हप्ता अगाडि उत्तर कोरियाली मिडियाहरुले मिसाइल परीक्षण गरेको जानकारी दिए । त्यहाँ पनि किम जोङ्ग उन देखिएनन् । खासगरी उनी यस्ता कार्यक्रमहरुमा जहिले पनि देखिने गर्दथे ।