
दक्षिण कोरियाको राजधानी सोलमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या फेरि बढ्न थालेपछि मदिरालय र क्लबहरू बन्द गरिएका छन्। सङ्क्रमणको दोस्रो लहर फैलिन सक्ने त्रासमाझ देशमा लकडाउन खुकुलो पारिएको थियो।आइतवार त्यहाँ ३४ जनामा कोभिड-१९ भएको पुष्टि भयो। यो एक महिनाभित्र एक दिनमा पुष्टि भको सर्वाधिक सङ्ख्या हो।अहिलेसम्म त्यहाँ १०,८७४ जनामा कोभिड-१९ पुष्टि भएको छ।
पहिला कोरोनाभाइरसको प्रकोप फैलिएपछि दक्षिण कोरियाले प्रभावकारी रणनीति अवलम्बन गर्दै त्यसलाई नियन्त्रण गरेको थियो। तर प्रतिबन्धहरू खुकुलो पारिएको केही दिनपछि फेरि सङ्क्रमण फैलिन सक्ने भन्दै सोलका नगरप्रमुखले सबै बार र क्लब बन्द गर्न निर्देशन दिए।
अहिले सङ्क्रमण वृद्धि हुनुमा गत सप्ताहान्त मनोरञ्जन गर्न राति बाहिर गएका एक २९ वर्षीय पुरुषसँग सम्बन्ध भएको देखिएको छ।त्यहाँ स्वास्थ्यसेवाका अधिकारीहरूले ती व्यक्ति गएको स्थानमा गएका अन्य १,५१० मानिसलाई पहिचान गर्न तथा उनीहरूको परीक्षण गराउन प्रयास गरिरहेकाे बिबिसीले जनाएको छ ।
आइतवार राष्ट्रपति मुन जे-इनले नयाँ सङ्क्रमणले पुन: पहिलाको जस्तो परिस्थिति उत्पन्न हुनसक्ने सम्भावनाबारे सचेत गराएको बताएका छन्।आफ्नो सम्बोधनमा उनले कोरोनाभाभाइरस पूर्णत: नसकिएसम्म देश सतर्क हुनुपर्ने बताए।दक्षिण कोरियामा केही समय कोरोनाभाइरस सङ्क्रमण अत्यासलाग्दो गरी फैलिएको थियो। चीनपछि त्यहाँ कोभिड-१९ भएका मानिसको सङ्ख्या सर्वाधिक थियो ।