
विभिन्न महामारीमा नर्सहरुले गर्ने मानवीय सेवा निकै महत्वपूर्ण मानिन्छ । यसो त पछिल्लो समय विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस नामको भयानक खतरा रोग सँगको युद्धमा पनि निकै महत्वपुर्ण भुमिका निवार्ह गरिरहेका छन्।यो निकै चुनौतिपुर्ण युद्धमा लडने सेता पहिरणधारि स्वस्थ्य क्षेत्रका सिपाई नर्सहरु पनि युद्ध मोर्चामा अग्र स्थानमा रहेका छन् । प्रयाप्त स्वास्थ्य सामग्रीहरु (हतियार) बिना कोरोना भाइरस सँग लडिरहेका विश्वभरिका सेता पहिरणधारिहरुको आज विश्व दिवस अर्थात अन्तर्राष्ट्रिय नर्स दिवस ।
यो बर्षको नर्सिङ दिवस भने हाम्रो लागि उत्साहको दिवस हुन् सकेन । यो विश्व ब्यापी संकटमा शोकलाई शक्तिमा बदल्दै आफ्ना अनेकौ चुनौतिका बिच मानवीय सेवामा खटिनु परेका छ । नेपालमा अहिले सम्मको अवस्था सामान्य भएपनि यस विश्व संकटपुर्ण अवस्थामा विश्वका कयौँ देशहरुमा नर्सहरु विरामी बचाउन खोज्दा खोज्दै पनि आफू संक्रमित भएर अस्पतालमै ढलेका छन त कसैले आफ्नो ज्यान समेत आहुति दिन बाध्य छन । नेपालमा पनि नर्सहरु संक्रमितको उपचारमा रातदिन नभनी अस्पतालमै खटिरहेका छन्।
कयौँ लडाइमा बिरता हासिल गरेका नेपालीहरुका सामु कोरोना संक्रमनको कठिन युद्ध जित्न सेता पहिरणधारि स्वास्थ्य सिपाइहरु अस्पतालमा मानवीय सेवाका लागि संर्घषरत छन्।युद्धमा कि मारिन्छ कि मरिन्छ । हामी सबैले कोरोना भाइरस नामको दुश्मनलाई मारिन्छ भन्ने उच्च मनोवल, हिम्मत र आट गरेर मैदानमा उत्रिएका छौ । कोरोना भाइरसलाई मारेर हाम्रा बिरामीहरु बचाउनु नै हाम्रो पहिलो मानवीय सेवा र पेशागत धर्म पनि हो । हामीले आफ्नो कर्तव्य पालनको शिशिलामा आउने अनेकौ चुनौतिहरुका बिच पनि हाम्रो पहिलो लक्ष्य कोरोना संक्रमनलाई अन्त्य गर्नु नै हो । आजको हाम्रो बिषेश दिन बिश्व (अन्तर्राष्ट्रिय ) नर्स दिवस जो जहाँ जुन अवस्थामा छौ त्यसरि मनाउनु पर्ने बाध्यता छ ।
अझ त हामी नर्सहरु बिशेष गरि फलोरेन्स नाइटिङ्गेलको मानवीय सेवाबाट प्रभावित जगत हो । हामीले हाम्रो नर्सिङ पेशाको मुख्य प्रेरणा र उर्जाको रुपमा उनै नाइटिङ्गेललाई लिने गर्दर्छौ । आज उहाँकै जन्म दिनको अवसरमा विश्व (अन्तर्राष्ट्रिय ) नर्स दिवस मनाइन्छ । उहाँ जस्तो महान नारीको सम्मानमा मनाइने यो दिवसले हामीलाई कोरोना उपचारमा खटिन थप उर्जा र प्रेरणा प्रदान गरोस भन्ने अपेक्षा लिएको छु । हामीले आजको विषेश दिनलाई सम्झदा फलोरेन्सले मानवीय सेवामा गर्नु भएको योगदान र साहसपूर्ण कार्यको बारेमा सामान्य जानकारी पाउनुपर्ने हुन्छ ।फलोरेन्स को सबैभन्दा महत्वपुर्ण योगदान क्रिमिया युद्धमा रहेको हामीले इतिहासहरु पढछौ । अक्टोबर १८५४ मा आफ्नो स्वेच्छाले घाइते सिपाहीहरूको उपचार गर्न ३८ महिलाहरूको एउटा दल तयार गरी सरकारले पठाएको देश टर्कीमा गइन् ।
त्यहा मानवीय सेवामा उनले ठुलो संघर्ष गर्नु परेको थियो । नर्सहरूको उक्त समूहले भुत घरजस्तै पुरानो भइसकेका अस्पतालहरु सफा गरे । त्यहां काम नलाग्ने भैसकेका अस्पतालहरु सफा गर्न त्यति सजिलो थिएन किनकि त्यहाँ साधारण भन्दा साधारण आवश्यक भौतिक सामानहरू साबुन रुमाल, हातधुने बेसिन लगायत केही पनि थिएन भने बिरामीका लागि खाट, डस्ना वा ब्यान्डेजहरू पर्याप्त मात्रामा समेत थिएनन् ।फलोरेन्स र तिनको समूहले यो चुनौती स्वीकारेर युद्धको अन्त्य सम्म उनीहरुले विश्वभरिका नर्सिङ सेवा तथा अस्पतालको प्रशासनमा सुधार ल्याएका घटनाहरु लाई पनि हामी अध्ययण गर्ने गर्दछौ ।
उनको यसै समयको अनुकरणीय मानवीय सेवाका कारण उनलाई बत्ती लिएकी केटी अर्थात् लेडी विथ द ल्याम्प उपाधिले सम्मानित गरियो । आज हामी विश्व भरिएका नर्सहरु त्यही मानवीय उत्प्रेरणाले अनेकौ स्वास्थ्य चुनौतिहरुलाई त्यहि युद्ध सम्झेर कार्य क्षेत्रमा विरामीहरुको सेवामा समर्पित भएका छौ । फलोरेन्सले स्थापना गरेको त्यही गर्विलो इतिहासलाई आत्मासात गर्दै हामी नेपाली नर्सहरु पनि उच्च मानवीय भवनामा कर्म क्षेत्रमा बिरामीहरुको उपचारमा दिनरात नभनि खटिन्छौ ।
हाम्रा तमाम खालका अभाव,समस्या र चुनौतिहरु छन । तर पनि हामी फिल्डमा खटिसके पछि हाम्रो भन्दा पनि विरामीहरुको सेवा गर्छाैं । एउटा विरामी सन्चो भयो भने गर्वले छाति फुल्छ । जोखिममा रहेको विरामीले जीवन बचाउदा हामीले गरेको प्रयासले हाम्रा कयौँ चुनौति र अभावका समस्याहरुमा राहत अनुभव हुन्छ । यसो त कोरोना संक्रमितको उपचार बाट नर्सहरु भाग्छन डराउछन भन्ने मित्थ्या आरोपहरु झुट सावित गर्दै हामीले दिनरात नभनि विरामीको सेवामा छौ ।आज कोरोना भाइरसको महामारी सग जुध्न हामी सँग प्रशस्त पुर्वाधार तथा स्वास्थ्य सामाग्रीहरुको अभाब छ । त्यही अभाब बिच पनि करेन्टवाला नाङगो तारलाइ औलाले छोए जस्तै गरि डाक्टर तथा नर्सहरुले बिरामीको चेकजाँच र उपचार गरिरहेका छौ ।
हाम्रो नेपाली समाजमा कतिपय मानवीय भवनाहरु त्यति रचनात्मक छैनन तर पनि यही बिचमा नर्सहरुलाइ कति निज ब्यवहार गरेका कयौ घटनाहरु सार्वजनिक भैरहेका छन । आज ज्यान जोखिममा राखेर विरामीको ज्यान बचाउन कोरोना भाइरस सँग लडिरहेका नर्स तथा डाक्टरहरुलाइ डेरा बाट निकालिएका घटनाहरु पनि सार्वजनिक भए । यही अवस्थामा कोठा नपाउने जस्ता समस्याहरु पनि आए । नर्सहरुका अरु नीतिगत र कानुनी समस्याहरु त छदै छन् ।
यस्तो मनवीय संकटको घडिमा हाम्रो र समाजको दुरि बढाउनु हुदैन् । हामी नर्सहरुले पेशागत मर्यादालाई उच्च बनाएर मानवीय सेवाका साथ कोरोना भाइरसलाई पराजित पार्ने ध्येयका साथ फिल्डमा छौ । तपाईहरु पनि यस संक्रमणलाई थप फैलन नदिन राज्यले अगाडी सारेका रणनितिहरु पुर्ण रुपमा पालना गर्नुहोस अवश्य पनि एक दिन हामीले कोरोना भाइरसलाई पराजित पार्दै बिजय हासिल गर्ने छौ । विश्व नर्स दिवसको हार्दिक शुभकामना।
सपना विक नेपाल नर्सिङ संघकाे केन्द्रीय सदस्य हुन् ।