
चीनको सहयोग रहेका ह्याकरहरूले काेराेना महामारीबारे अनुसन्धान गरिरहेका अमेरिकी संस्थाहरूलाई निसाना बनाएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।सङ्घीय जाँच ब्यूरो एफबीआईका अनुसार कोरोना भाइरस सङ्क्रमणबारे खोप, उपचार र परीक्षणजस्ता विषयमा काम गरिरहेका अमेरिकी समूहहरूबाट विवरण ह्याक गर्ने प्रयास भइरहेको छ।अमेरिकाले लामो समय देखि बेइजिङमाथि साइबर जासुसीको आरोप लगाउँदै आएकाे बिबिसीले जनाएको छ । तर बेइजिङले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ।कोरोनाभाइरसको विश्वव्यापी महामारीले दुई देशबीचको सम्बन्ध झन् नराम्रो बनाइदिएको छ।
दुवै देशले एकअर्कालाई उक्त प्रकोप नियन्त्रण गर्ने कार्यमा असफल भएको भन्दै आरोप लगाइरहेका छन्। काेराेना भाइरस बाट विश्वभरि ४३ लाखभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् ।
एफबीआई र साइबर सुरक्षासम्बन्धी निकायले बुधवार संयुक्त रूपमा सम्भावित डिजिटल ह्याकबारे चेतावनी जारी गरेका हुन्।लोक कल्याणकारी विज्ञापन भनिएको उक्त चेतावनीमा स्वास्थ्य सेवा, औषधि उत्पादन गर्ने कम्पनी र काेराेना भाइरसका विषयमा अनुसन्धान गरिरहेका कम्पनीहरू ह्याकरहरूको मुख्य निसानामा रहेको उल्लेख गरिएको छ।