
सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई १० दिनपछि स्वदेश ल्याउन सुरु गर्ने छ ।
विदेश बाट फिर्ता ल्याएकाहरुलाई दुई हप्ता काठमाण्डौमा बस्नका लागि सरकारले होटल र सार्वजनिक क्वारेण्टीनको व्यवस्था गर्नेछ । होटलमा बस्ने श्रमिकले आफैंले खर्च व्यर्होन पर्नेछ भने सार्वजनिक क्वरेण्टीनमा बस्नेका लागि सरकारले व्यवस्था गर्नेछ । प्रदेश अनुसार क्वारेन्टाइन बनाउने र त्यही अनुसार फर्कनेको व्यवस्थापन गर्ने सरकारको योजना छ ।
सरकारले सबैभन्दा पहिला आममाफी पाएका, भिसाको अवधि सकिएका, घरफिर्ती केन्द्रमा रहेका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य समस्यामा रहेका, बालबालिका ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका तर कोरोनाको कारण फर्कन नपाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाली तर नेपाल फर्कन पर्ने अवस्थामा रहेकालाई ल्याउने छ ।