
प्रमुख विपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कार्यसमितिले भनेको छ, सुगौली सन्धिले कालीपूर्वको भूभाग हाम्रो भएको प्रष्ट भएको छ । यसलाई अंग बनाउने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव उचित छ । यसको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।बुधबार संसदमा पेश गर्ने तयारी पनि थियो । तर अघिल्लो दिन बसेको सर्वदलीय बैठकमा कांग्रेसले समय मागेको भन्दै बुधबार संसदको कार्यसूचीमा राखिएको थिएन ।