
दक्षिण-पूर्वी अरब सागरमा हाल विकास भइरहेको र यसै साता भारतमा प्रवेश गर्ने आकलन गरिएको निसर्ग नामक चक्रवातको प्रभाव नेपालमा पनि देखिने माैसम विदहरुले जनाएका छन ।तर चक्रवात सिधै नेपालमा प्रवेश नगर्ने भएकाले यहाँ हुने असर आंशिक हुने उनीहरूको भनाइ छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल दक्षिण पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको छ र यसले बुधवार चक्रवातको स्वरूप लिनेछ।
अहिले नेपालमा पश्चिमी वायु र अरब सागरमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखा परिरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतमा बुधवार प्रवेश गर्ने चक्रवातको प्रभाव अम्पनको तुलनामा नेपालमा बढी देखिन सक्छ। बिहीवार मध्यम खालको वर्षा हुनसक्ने र शुक्रवार र शनिवार ठूलो वर्षा हुन सक्ने छ ।
दक्षिण-पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सर्दा विकास भइरहेका बादल आउने क्रम जारी रहेको छ ।नेपालमा जून १० (लगभग जेठ मसान्त) अघि नै मनसुन भनिने बर्खे झरी सुरु हुने बताइन्छ। मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जून महिनाको १० तारिखकै हाराहारीमा नेपालमा पनि प्रवेश गर्ने छ ।