
चार्टर उडानका नाममा यात्रु ठगिएको गुनासो बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि विदेशमा हुने सबै चार्टर उडानमा रोक लगाउने निर्णय गरेको छ । अत्यावश्यक अवस्थामा कुनै देशका दूतावासले सीधा सम्पर्क गरेमा मात्रै उडान अनुमति दिने समेत प्राधिकरणले शनिबार निर्णय गरेको हो ।
चार्टर उडान भन्दै टिकेटिङ र ट्राभल कम्पनीलगायतले महँगो टिकट काटेर यात्रु लाने गरेको गुनासो आएकाले तत्काल व्यवस्थित नभए सम्मका लागि चार्टर उडान बन्द गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । ‘अब भोलिदेखि नै दूतावासले कारण खुलाएर अत्यावश्यक हो भनेर सीधै सम्पर्क नगरेसम्म उडान अनुमति दिँदैनौँ,’ पोखरेलले भने ।
सरकारले कोभिड–१९ को संक्रमण फैलन नदिन भन्दै गत ११ चैतदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा प्रतिबन्ध लगाएको थियो, जुन आगामी १३ असारसम्म जारी रहनेछ । नेपालबाट बाहिर जानेसँग पनि ट्राभल एजेन्सीमार्फत मनलाग्दी भाडा तोकेर चार्टर गर्ने गरेकोसमेत गुनासो पर्यटन मन्त्रालयमा पुगेको थियो ।
उता विदेशमा रहेका नेपालीसँग पनि जहाज मिलाउने र टिकट काटेर पठादिने भन्दै अग्रिम पैसा असुल गर्न थालेको गुनासो पर्यटन मन्त्रालयमा आइपुगेको छ । जसका कारण दुवैतर्फका यात्रु ठगिने देखिएपछि प्राधिकरणले व्यवस्थित कार्ययोजना नबने सम्मका लागि चार्टर उडानको अनुमति नदिने निर्णय गरेको महानिर्देशक पोखरेलले जानकारी दिए ।
केही दिनअघि नेपालबाट हङकङका नेपाली लगेको विषयमा पनि आलोचना भएको थियो । पहिले उतैका एजेन्टमार्फत हिमालय एयरलाइन्सले मिलाएको भन्दै १५ दिनदेखि रकम उठाइएको थियो । तर, अन्तिममा हिमालयले अनुमति नपाएपछि नेपाल वायुसेवा निगमले यात्रु बोकेको थियो । एजेन्टहरूले जहाज र एयरलाइन्ससमेत फिक्स नगरी यात्रुसँग रकम उठाउन थालेका छन् ।
विदेशमा रहेका सोझा नेपालीलाई यसैगरी रकम उठाउने र ठगिन सक्ने भन्दै पर्यटनमन्त्री योगेश भट्टराईकै आग्रहमा प्राधिकरणले चार्टर उडानमा रोक लगाएको छ । शुक्रबार मात्रै पर्यटन मन्त्रालयमा मनलाग्दी हवाई भाडा एजेन्टमार्फत उठाइएको भन्दै चारवटा उजुरी परेको थियो ।
जापान, दक्षिण कोरियामा नेपाली लैजाँदासमेत एजेन्टमार्फत काम भइरहेकोसमेत मन्त्रालयमा उजुरी परेको छ । ‘अहिले एजेन्टले मानिससँग पैसा उठाएर एयरलाइन्स खोज्ने काम सुरु भएको छ, भोलि विदेशमा रहेका नेपालीलाई यसै गरे भने समस्या आउँछ,’ मन्त्रालयका एक अधिकारीले भने । लकडाउनमै पनि हालसम्म निगमले मात्रै २४ वटा उडान गरिसकेको छ । हिमालयले पनि एक दर्जन उडान गरिसकेको छ । यता विदेशी एयरलाइन्सहरूले पनि ६० वटाभन्दा बढी चार्टर उडान गरेका छन्, जसबाट आठ हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । याे खबर नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित गरेको छ ।