
रुकुमको मुसिकाेट नगरपालिका वडा नम्बर १० लसुन खेतीमा प्रख्यात बन्दै गएको छ । विगतका बर्षहरुमा किसानहरुले थाेरै लसुन खेती गर्दै आएको उक्त क्षेत्रमा वडा कार्यालयले नयाँ बीउ र सिंचाइकाे व्यवस्था गरिदिएपछि याे बर्ष उत्पादन निकै राम्रो भएको किसानहरुले बताएका छन ।
चालू आर्थिक वर्षमा करिव १४ हजार किलो, १ सय ४० क्विन्टल लसुन उत्पादन गरेका छन । जस मध्ये किसानको १० हजार ६ सय किलो करिव १३ लाख रुपैयाको लसुन जिल्ला बाहिर गएको छ । यस्तै ३ हजार ४ सय किलो, ३ लाख ५० हजार रुपैयाँ बराबरको बिउँ आगामी वर्षकाे लागि वडामा राखिएको वडा सदस्य बसन्त खड्का (धन बहादुर खड्काले ) बताए । वडा सदस्य खड्काका अनुसार चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वडा कार्यलयले २ हजार २ सय किलो लसुनको बीउ कृषकलाइ वितरण गरेको थियो ।

वडाले पुर्ण रुपमा व्यावसायिकरण गर्ने याेजना बनाएको बताइएको छ ।सुरुमा बजारको समस्या थियाे,जब वडा निर्वाचन सम्पन्न भयाे ,त्यसपछि बजार विस्तार भयो ,दाङ का व्यापारी सँग समन्वय गरियाे अहिले किसानकाे बारीमै व्यापारी पुग्छन् वडा सदस्य खड्का भन्छन् ।
वडाकाे झ्याङ टाेल लसुन उत्पादनकाे लागि निकै प्रख्यात ठाउँ मानिएको छ । गलमपाटी,जाेगिखाेर्या,चाैर,खर्सुपानि आदि ठाउँमा पनि लसुन खेति विस्तार हुदै गएको छ । लसुन खेती बाट कृषकहरुले कम लगानीमा धेरै आम्दानी गरेपछि खुसि छन ।गत बर्ष ६ हजार सात सय रुपैयाँको एक क्विन्टल बीउ किनेर बारिमा लगाएका झुपलाल ओलीले याे बर्ष १२ क्विन्टल लसुन बेचेर १ लाख २३ हजार रुपैयाँ हात पारेका छन । वडाले चाइना बाट ल्याएर वितरण गरेको बीउ निकै राम्रो उत्पादन भएको झुपलाल बताउछन ।

यस्तै अनिल खड्का ,खडग बहादुर बुढा,खिम बहादुर खड्का ,टंक प्रसाद खड्का ,बिरधाेज खड्का,माधव खड्का ,याम बहादुर खड्का आदिले पनि राम्रो लसुन बिक्री गरेका छन । अहिले उक्त वडामा प्रदेश सरकारले सुरु गरेको मसलाबाली पकेट क्षेत्र कार्यक्रम समेत लागू गरिएको छ ।मुसिकाेट नगरपालिका अन्तर्गत आठ,नाै,दश र ११ वडामा संचालन भएको याे कार्यक्रम १० नम्बर वडामा विषेश तरिकाबाट अगाडि बढिरहेको छ ।किसानहरुकाे उत्साहजनक सहभागीताका कारणले आगामी बर्षमा व्यावसायिक लसुन पकेट क्षेत्र ,मसलाबाली पकेट क्षेत्र सफल हुने वडाले अपेक्षा गरेको छ ।