
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ ।शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरूषसँग बिहे गरेर निरन्तर बसोबास गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो ।
कांग्रेस र मधेस केन्द्रित दलहरु नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिने वर्तमान व्यवस्थाको पक्षमा छन् ।अरू दल सहमत नभए बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति भएको नेकपाका एक नेताले बताए ।नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिए । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनायो ।