
नेपालमा सलह किरा भित्रिएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने ।भारत हुदै याे किरा नेपाल भित्रिएकाे हाे ।
चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ताअगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (जसलाई नेपालीमा सलह भनिन्छ)ले धेरै नै क्षति पुर्याएको समाचारहरू प्रकाशित भएका थिए । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदैगर्दा यही खतरनाक किरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको कृषि खेती प्रणालीलाई चौपट पार्न सक्ने अनुमान गरिएको थियोे । अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने सलह किरा नियन्त्रण नेपालकाे लागि अर्को चुनाैतिकाे बिषय बनेको छ ।
भारत, पाकिस्तान, इरानमा पनि यसले क्षति पुर्याइ सकेको छ । यो किराको आकार अफ्रिका, मध्यपूर्व र एसियाका खाडी देशमा आजभन्दा ७० वर्षपहिले देखिएकोभन्दा २० गुणा ठूलो मानिएको छ । ती देशका सरकारहरूले यसलाई कोरोना भाइरस र अमेरिकी फौजी किराभन्दा धेरै गुणा क्षति पुर्याउन सक्ने भनि दाबी गरिरहेका छन्।