महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको भनिएको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ । यद्यपि, तल्लो तहका अधिवेशनहरुको कार्यतालिका भने हेरफेर हुने भएको छ ।आशन्न महाधिवेशनका बारेमा छलफल गर्न आइतबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने निर्णय गरेको छ । बैठकले कोरोनाका कारण प्रभावित तल्लो तहका अधिवेशनको मिति भने हेरफेर गर्ने निर्णय गरेको छ ।
“कोरोनाका कारण पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकामा असर पर्यो । अब कार्यतालिका रि–राइट (पुनर्लेखन) गर्नुपर्ने निर्णय भएको छ,” पदाधिकारी बैठकबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, “पार्टीको केन्द्रीय महाधिवेशनको कार्यतालिकामा फागुन ७ मा कुनै हेरफेर नहुने गरी तल्लो तहको अधिवेशनको कार्यतालिका तय गरिन्छ ।”
तल्लो तहको अधिवेशनका लागि कार्यतालिका तय गर्न कांग्रेसले आगामी मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यसअघि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकबाट बहुमतका आधारमा केन्द्रीय कार्यसमितिको म्याद एकवर्ष थप गर्दै २०७७ फागुनको ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेका थिए ।
यस्तो थियो पूर्वनिर्धारित अधिवेशनको कार्यतालिका
(क) गाउँ-नगर वडा अधिवेशन- २०७७ कात्र्तिक १६ गते ।
(ख) गाउँ-नगरपालिका अधिवेशन- २०७७ कात्र्तिक १८ गते
(ग) प्रदेशसभा क्षेत्रीय अधिवेशन- २०७७ कात्र्तिक २१ गते
(घ) प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला) – २०७७ कात्र्तिक २३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन– २०७७ कात्तिक २५ गते
(च) प्रदेश अधिवेशन- २०७७ मंसिर २९ गते
(छ) केन्द्रीय महाधिवेशन- २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं । बाह्रखरी बाट