काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको सय दिन पुगेको छ ।
चैत ११ गतेदेखि देशभर गरिएको लकडाउन असार १ गतेदेखि केही खुकुलो बनाइएको छ । लकडाउनको यो मोडालिटी साउन ७ गतेसम्म कायम राख्ने सरकारले निर्णय गरिसकेको छ । तर सङ्क्रमण बढेमा प्रदेश र पालिकाले केन्द्रसँगको समन्वयमा निश्चित ठाउँमा लकडाउन कडा या खुकुलो बनाउन सक्छन् ।
पछिल्लो समय देशभर सङ्क्रमण बढ्दै गएको छ भने नागरिकमा भने डर घट्दै गएको छ । शहरी क्षेत्रमा भिडभाड बढे पनि परीक्षणको दायरा बढ्न सकेको छैन । हिजोसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको । २९ जनाको ज्यान गएको छ । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् । दश हजार तीन सय ४१ को उपचार चलिरहेको छ ।
देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।