काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको समस्याको मुख्य कारण नै प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् । प्रधानमन्त्री ओली निकट नेताहरुसंग भेटमा पार्टी एकताको लागी आफुले उदारता र त्याग देखाएको भन्दै त्यसलाई अर्का अध्यक्ष ओलीले कमजोरी ठानेको बताए ।
उनले सरकारको पछिल्लो गतिविधीले पार्टी सक्किन लागेको भनाई राखेका थिए । प्रचण्डले आफ्नो गल्ती कमजोरी भएको खण्डमा सच्याउन तयार रहेको भएपनि अर्का अध्यक्ष ओलीमा त्यो भावना हुनुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री ओली पक्षिय नेताहरुले मिल्नुको विकल्प नभएको भन्दै दुवै अध्यक्ष मिलेर जान सुझाव दिएका छन् । उनिहरुले पार्टीलाई सहमतीकै आधारमा अघि बढाउनुपर्ने सुझाव दिएको स्रोतको दावी छ । ओली निकट नेताहरुले अंक गणितको कुरा नगर्न पनि प्रचण्डसंग आग्रह गरेका थिए ।
‘अंक गणित भन्ने चिज तलमाथी भइरहन्छ, तपाईहरुको पक्षमा अहिले गणित छ,पछि नरहन् सक्छ । त्यसैले सहमतिको आधारमा अघि बढ्नुको विकल्प छैन् । ’ ओली पक्षिय नेताहरुको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
वैठकमा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी एकताको बेला भएको सहमती प्रधानमन्त्रीबाट उल्लंघन भएको आरोप लगाए । उनले उक्त सहमतीपत्र समेत हराइसकेको हुन् सक्ने व्यंग्य वैठकमा गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारबाट हटाउने तयारी भइरहेको वेला उनि निकट नेताहरु सक्रिय भएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत नेताहरु प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा एक मत रहेका बेला प्रधानमन्त्री निकट नेताहरु बिहिवार प्रचण्ड निवास खुमलटार पुगेका छन् ।