नेकपा भित्र विवाद चर्किएको भन्दै शीर्ष नेताहरूबीच राजनीतिक सहमति जुटाउने प्रयासमा स्थायी कमिटीको बैठकलाई शनिबार बिहानसम्म स्थगित गरिएको छ।बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएर संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेर समझदारी उल्लंघन गरेको अर्का अध्यक्ष प्रचण्डले बताएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
स्थायी कमिटीका अधिकांश नेताहरूले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरिरहेका बेला ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार संसदको अधिवेशन अन्त्य भएको घोषणा गरिएको छ।असन्तुष्ट पक्षका नेताहरूले उक्त कदमलाई अध्यादेश ल्याएर दल विभाजन गरी सत्ता लम्ब्याउने प्रधानमन्त्रीको रणनीतिका रूपमा बुझेजस्तो प्रतिक्रिया दिइरहेका छन ।
स्थायी कमिटीभित्रको समिकरणमा प्रधानमन्त्री ओली अल्पमतमा देखिँदा बिहानैबाट विभिन्न समूहका नेताहरूले सहमति कायम गर्न अलग अलग भेटवार्ताहरू गरेका थिए।ओली निकट नेताहरूले अर्का अध्यक्ष प्रचण्डलाई उनको निवासमा गएर भेटेका थिए।त्यसपछि स्थायी कमिटीका नेताहरू बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा हुँदा प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेट्न पुगेका थिए।त्यहाँबाट फर्किएर उनले मन्त्रिपरिषद्को बैठक बोलाए जसले संसदको जारी अधिवेशन बिहीबार साँझबाट नै अन्त्य गर्ने निर्णय लियो।
कतिपय मन्त्रीहरूसमेत बैठकस्थलमा पुग्न नभ्याउँदै उक्त निर्णय गरिएका विवरण आएका छन्।त्यसपछि प्रधानमन्त्रीको अनुपस्थितिमाझ चलाइएको स्थायी कमिटीको बैठक रोकेर प्रचण्ड सहितका नेताहरू ओलीलाई भेट्न गएका थिए।राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस लगत्तै संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको घोषणा गरेकी थिइन्।बिहीबार बिहान बाट साँझ सम्म नेकपा विभिन्न राजनीतिक उथलपुथलहरु भए ।यी सबै उथलपुथलहरुले नेकपा फुटकाे अन्तिम संघारमा पुगेको त हाेइन भन्ने आशंकाहरु उब्जाएको छ ।