भारतको उत्तर प्रदेशमा पर्ने कानपुर जिल्लाको एक गाउँमा ८ प्रहरीको हत्या भएको छ। शुक्रबार बिहान अज्ञात समूहले प्रहरीमाथि गोली प्रहार गरी एक डीएसपी, तीन सब इन्स्पेक्टर गरी ८ प्रहरीको हत्या गरेको हो।
ती समूहले घरको छानामा लुकेर गोली प्रहार गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
उक्त गाउँमा तीन प्रहरी स्टेशनबाट हत्या आरोपितलाई समाउन प्रहरी टोली पुगेको थियो। प्रहरी टोली विकास दुबे नाम गरेका आरोपितलाई समाउन त्यहाँ पुगेको हो। उनलाई ६० आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेको छ। त्यस्तै उनी भर्खरै हत्या आरोपमा प्रहरीको खोजी सूचीमा रहेका थिए।
दुबे समूहले नै उक्त आक्रमण गरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले आक्रमण योजनाबद्ध रहेको बताएको छ। ‘त्यहाँ एम्बुस थियो’, कानपुर प्रहरी प्रमुख दिनेश कुमारले भने, ‘तीनतिरबाट गोली प्रहार भएको थियो र यो पूर्ण रूपमा योजनाबद्ध थियो।’
भारतीय सञ्चार माध्यमका अनुसार घटनासँगै कानपुरसँग जोडिएको ६ जिल्लासँगका नाका बन्द गरिएको छ।