काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद बढेपछि समाधानका लागी दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । केपी ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरुले शुक्रबार बिहान एकै ठाउँमा भेला भएर शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेका हु्न् ।
शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीसमेतको सहभागिता थियो । भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।
‘पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्षनेताहरुलाई आग्रह गर्ने निर्णय भएको छ’ भेलामा सहभागी एक नेताले भने, ‘एक अर्कामा दूरी बढ्ने गतिविधि नगर्न र कार्यकर्तालाई नउराल्न सबैले आ–आफ्ना नेताहरुसँग आग्रह गर्ने सहमति भएको छ ।’
दोस्रो पुस्ताका नेताहरुको भेलाले एकताको आधार खोज्ने सहमति गरेका छन् । यसका लागि थप छलफल गर्दै जाने नेताहरुवीच सहमति भएको छ ।
दोस्रो पुस्ताका नेताहरुको भेलाले पार्टीभित्रको अन्तरविरोध मथ्थर पार्न सबैले शीर्षनेताहरुलाई संयमित रहन आग्रह गर्ने निर्णय गरेको भेलामा सहभागी टोपबहादुर रायमाझीले बताए । पूर्वमाओवादी खेमाका नेता रायमाझीले भने, ‘हामी ११ जना बस्यौं । पार्टीभित्र जुन स्तरको विवाद भइराखेको छ, यसलाई नियन्त्रणमा लिने, साम्य पार्ने र त्यसपछि असहमतिहरुलाई सहमतिमा बदल्दै एकतालाई सुदृढ पार्ने निर्णय भएको छ ।’