काठमाडौं – सत्तारुढ दलभित्रको आन्तरिक कहल साम्य पार्ने प्रयासस्वरुप आइतबार दुई पक्षबीच वार्ता हुन लागेको छ ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने र त्यसो गर्दा पार्टी फुटे फुटोस् भन्ने अभिव्यक्ति दिएका थिए ।
उनले पार्टी एक हुने अवस्था नरहेकाले बरु प्रचण्डलाई पनि माधव नेपाल समूहमा जाने या आफ्नो कित्तामा आउने निर्णय गर्न आग्रह गरेका थिए । तर प्रचण्डले पार्टी फुटाउने भन्दा पनि जुटाउनेतर्फ लाग्नुपर्ने भन्दै संवादलाई अघि बढाउन जोड दिएका थिए ।
त्यसपछि ओलीले ‘गरौँला न त !’ भन्ने जवाफ दिएका थिए । शुक्रबारको सहमति अनुसार शनिबार नेताहरुबीच छलफल गर्ने भनेपनि नेताहरु आ आफ्ना पक्षका नेताहरुसँग छलफलमा लागेपछि वार्ता हुन सकेको थिएन । आजको बालुवाटार वार्तापछि नेकपा फुट्ने वा जुट्ने निक्र्योल हुने नेताहरुले बताएका छन् ।
ओली र प्रचण्डबीचको आइतबारको वार्ताअघि दुवै पक्षले आफू निकटका नेताहरुसँग परामर्श गरेका थिए ।
त्यसक्रममा ओलीले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, शंकर पोखरेल लगायतका नेताहरुसँग समाधानको उपायबारे छलफल गरेका थिए भने प्रचण्डले नेता नेपाल र खनालसँग परामर्श गरेका थिए ।
यता पार्टीभित्र बढेको कलह साम्य हुनुको साटो बढ्दै गएपछि दोस्रो तहका नेताहरु शुक्रबारबाटै पार्टी कार्यालय धुम्वराहीमा धर्नामा बसेका थिए ।
सोही अभियान अन्तर्गत सोमबार केन्द्रीय सदस्यहरुको भेला बोलाइएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुन लागेको हो । ओलीसँगको वार्ता अघि प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपतिसँग भटसकेलगत्तै प्रचण्ड बालुवाटार छिरेका हुन् ।