काठमाडौं- नेपाली काँग्रेसले महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ ।कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए । प्रस्तावित नागरिकता विधेयक र केन्द्रीय महाधिवेशनको तालिकासम्बन्धी एजेण्डा राखेर असार १६ गतेदेखि कांग्रेस बैठक सुरु भएको थियो ।
क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।
यस्तो छ महाधिवेशनको कार्यतालिका
- केन्द्रीय अधिवेशन फागुन ७, ८, ९ र १० गते ।
- गाउँ /नगर, वडा अधिवेशन ०७७ पुस ६ गते
- गाउँ/नगरपालिका अधिवेशन ०७७ पुस ८ गते
- प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते
- प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको
- जिल्लाका अधिवेशन ०७७ पुस १३
- एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६
- प्रदेश अधिवेशन माघ ६ गते