काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नकेपा) का नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कुनै पनि विदेशीको राजनीतिक तथा कुटनीतिक गतिविधिलाई सुन्न सकिने तर मान्ने नमान्ने अधिकार आफैमा भर पर्ने बताएका छन् ।
बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा प्रश्नात्मक शैलीमा भट्टराइले ‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संविधान निर्माणप्रति सद्भाव राख्नु ठिक ?’ भन्दै प्रश्न गरेका छन् ।
त्यसैगरी उनले ‘पहिलो र दोश्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाव राख्नु ठिक ?’भनेर सोधेका छन् ।
भट्टराइले फेसबुक वालमा ‘नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ?’ भन्दै अर्को प्रश्न पनि गरेका छन् ।
उनले पार्टी–पार्टी र पार्टीभित्रको अन्तरबिरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबीचमा राम्रो एकता बनाउँदै नेपालको सम्वृप्रति सद्भाव राख्नु ठिक ?’ भन्दै दुई छिमेकीले गर्ने व्यवहारप्रति संकेत गरेका छन् । मन्त्री भट्टराईका सवै बुँदा पढ्दा नेपालका लागि भारतको भन्दा चीनको भूमिका उपयुक्त र सहयोगी भन्ने भाव झल्किन्छ ।