कास्की – कास्कीमा दुई ठाउँमा पहिरोले घर पुरिंदा ४ जनाको ज्यान गएको छ । पोखरामा ३ र हेम्जामा १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका १८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । केही सम्पर्कबिहीन भएका प्रहरीले जनाएको छ ।
बिहान ३ बजेतिर पहिरो जाँदा ३ जनाको ज्यान गएको कास्कीका डीएसपी सुबास हमालले जानकारी दिनुभयो । उनीहरुको परिचय भने खुलेको छैन । पुरिएको घरमा हिजो जन्मदिन उत्सव भएको र जन्मदिन मनाउनका लागि केही आफन्तहरु पनि आएका स्थानीयले बताएकाे उहाँले जानकारी दिनुभयो । घर पूर्ण रुपमा पहिरोले पुरिएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । घाइतेलाई पोखराको मणिपाल अस्पताल र पश्चिमाञ्चल अस्पताल लगिएको छ ।
पानी लगातार परिरहेकाले थप अरु घर पनि जोखिममा छन् । यस्तै पोखराकै हेम्जामा रहेको रामचन्द्र अधिकारीको घर पनि पहिरोले पुरिंदा उहाँकी आमा हिमकलीको ज्यान गएको छ । गएराति ३ बजेतिर नै पहिरो गएको हो ।
म्याग्दीमा सात जना बेपत्ता
लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।
घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।
उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।
भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए ।
माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उनले बताए ।
घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् । ‘गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ’, वडासदस्य पुनले भने, ‘पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ ।’
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् ।