संखुवासभा – संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।
७३ घर तथा आसपासको क्षेत्रमा कुनै पनि बेला पहिरो खस्न सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।
यस्तै शनिबार रातिको पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयवासी, प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कुबाट गएको नेपाली सेना जुटिरहेको भए पनि कोही पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ । विस्थापित भएका परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जाने लागेको सेनाको हेलिकप्टर मौसम खराबी भएपछि जान नसकेको प्रहरी प्रमुख मल्लले बताए ।
अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।