काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैर जिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् ।
साथै, उनले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शत प्रतिशत गलत र कपोलकल्पित रहेको पनि भनेका छन् ।
थापाले प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमण विरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्व सम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालि रहनु भएको निकै संवेदनशील वेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्व रहेको प्रष्ट नै छ ।’