काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलिले भानु जयन्तीको अवसरमा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्जदेखि पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताए पछि यो निकै आलोचना र चर्चाको विषय बनेको छ ।
सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा अेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको हो । अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको तयारी छ ।
‘माथिबाट हामीलाई निर्देशन आउना साथ हामी अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउँछौं,’ एक अधिकारीले भने, ‘प्रधानमन्त्रीले बोल्नु भएपछि यसबारे अनुसन्धान गर्नैपर्ने अवस्था आएको छ ।’
विभागका अनुसार अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिन्छ । हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसक्ने भएकाले थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने उसको राय छ ।