काठमाडौं – सार्वजनिक यातायात नखोलेको गुनासो लिएर तीनवटा यातायात मजदुर संगठनका नेताहरु बुधबार दिउँसो बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा पुगे ।
यातायात मजदुरहरुले कोरोना महामारीको मारमा परेर यातायात मजदुरको अवस्था दयनीय बनेको प्रतिपक्षी दलका नेता देउवालाई सुनाए ।
मजदुर नेताहरुले प्रतिपक्षी दलको नेताको हैसियतमा यातायात क्षेत्रका समस्याबारे सरकारसँग कुरा राखिदिन आग्रह गर्नासाथ देउवाले त्यहीँबाट सहयोगीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन डायल गरिहाले ।
आफूसँग डेलिगेसन आएका मजदुर प्रतिनिधिकै अगाडिबाट पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री ओलीलाई भने, ‘यातायात मजदुर र व्यवसायीहरु समस्यामा परेका छन्, उनीहरुलाई भेट्ने समय दिएर कुरा सुनिदिनुपर्यो । र, सरकारले उनीहरुको समस्या समाधान गरिदिनुपर्यो ।’
प्रधानमन्त्रीसँग फोनमा कुरा गरिसकेपछि कांग्रेस सभापति देउवाले मजदुर नेताहरुलाई भने, भोलि समय मिलाउँछु भनेका छन्, गएर प्रधानमन्त्रीलाई आफ्ना मागहरु राख्नू ।