नेपाल विद्युत् प्राधिकरणले दुई दिनदेखि भारतबाट बिजुली आयात गर्न सकेको छैन। भारतमा बिजुलीको मूल्य अकासिएका कारण आयात गर्न नसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए। हामीले कम मूल्यमा बिड गरेका कारण नपरेको हो। बढीमा भारतीय रुपैयाँ ३ प्रतियुनिटमा बिजुली पाइरहेकामा २ दिनदेखि भारतीय रुपैयाँ २० सम्म बिजुली बिक्री भइरहेको छ,’ भट्टराईले भने। रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण आयातीत कोइलाको भाउ महँगो हुँदा भारतमा नै उत्पादन घटेकाले नेपालले बिजुली नपाएको हो।
भारतबाट बिजुली नआउँदा मंगलबारदेखि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ। बुटवल, वीरगन्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रमा बिजुली लोड घटाएको प्राधिकरणले जानकारी दिएको छ। औद्योगिक क्षेत्रमा लोडसेडिङभन्दा पनि लोड कम गरेको प्रवक्ता भट्टराई बताउँछन्। यो छोटो समयको अभाव भएकाले आफैं समाधान हुने अपेक्षा प्राधिकरणको रहेको छ। नेपालका उद्योगले करिब ३ सय ५० मेगावाटसम्म बिजुली खपत गर्छन्। गार्हस्थ्य तथा व्यापारिक क्षेत्रमा लोडसेडिङ हुन नदिन औद्योगिक क्षेत्रमा लोड कम गरेको प्राधिकरण बताउँछ।
बुधबारको बिडिङमा करिब १६ सय मेगावाट आवर बिजुली परेको छ। बुधबार भारतीय एक्सचेन्ज मार्केटमा बिडिङका लागि नेपालले १२ भारतीय रुपैयाँ प्रतियुनिट खर्च गरेको भट्टराईले बताए। उनका अनुसार, एक्सचेन्जमा २४ घण्टालाई १५ मिनेटको ब्लकमा विभाजन गरी ९६ ब्लक बनाएको छ। त्यसमा १० ब्लकमा मात्र नेपाललाई बिजुली परेको छ।