
१९ औँ रोट महोत्सव गोरखा जिल्लाको गोरखा दरबार गोरख गुफामा आउदो जेष्ठ २ गते बैशाख पूर्णिमा देखि ११ दिन सम्म संचालन हुने भएको छ ।विगत २३ वर्षदेखि धार्मिक, आध्यात्मिक, सामाजिक एवं शैक्षिक गतिविधिहरू संचालन गरेर मानवीय चेतनालाई विवेकशील, जिम्मेवार, कर्तव्य, समझदारी एवं आध्यात्मिक भावभूमिले ओतप्रोत गर्न श्री महायोगी गुरु गोरखनाथ एवं परमहंस स्वामी श्री निखिलेश्वरानन्द महाराजलाई गुरु रूपमा धारण गर्री अगाडि बढिरहेको सिद्धाश्रम शक्ति केन्द्र नेपालले दैनिक, साप्ताहिक, मासिक रूपमा आध्यात्मिक एवं धार्मिक कार्यक्रमहरूको संचालन गरिरहेको आयाेजक संस्थाले जनाएको छ ।

विश्वकल्याण, शान्ति, आध्यात्मिक समाज निर्माण गर्न, गोरक्ष निखिल शक्ति जागरण गर्न, गुरु गोरखनाथलाई खुशी बनाउन सिद्धाश्रम शक्ति केन्द्रले प्रत्येक वर्ष सवालाख रोट महोत्सवको परंपरालाई निरन्तरता दिँदै आइरहेको संयाेजक किशोरकुमार अकेलाले जानकारी दिनुभयो । सिद्धाश्रम शक्ति केन्द्रले नेपालको अगुवाईमा सम्पूर्ण भक्तजनहरूको तर्फबाट सवालाख रोट महोत्सवलाई ऐतिहासिक, भव्य एवं दिव्य रूपमा प्रत्येक वर्ष गुरु गोरखनाथको कृपा, आशीर्वाद प्राप्त गर्नको लागि संचालित दिव्यतम् कार्यक्रम भएको पनि संयाेजक अकेलाले बताउनु भयो ।

श्री श्री महायोगी गुरु गोरखनाथ प्रथमपटक वैशाखी पूर्णिमामा गोरखाको दिव्य गोरख गुफाबाट प्रकट हुनु भएको दिनलाई गोरक्ष प्रकट दिवसको रुपमा मनाउँदै यसै दिनदेखि सवालाख रोट महोत्सवको शुरुआत भएको हो ।
यस वर्ष पनि ज्येष्ठ २ गते वैशाखी पूर्णिमाका दिनदेखि गोरखा बजारस्थित सिद्धाश्रम शक्ति केन्द्रबाट भव्य शोभायात्रा निकालिने कार्यक्रम रहेको छ । उक्त शोभायात्रा कार्यक्रममा सम्पूर्ण संघसंस्था, विद्यालय, महिला समूहहरू एवं सम्पूर्ण भक्तजनहरूलाई शोभायात्रामा सहभागिताका लागि आयाेजकले अपिल गरेको छ ।
१९ औँ सवालाख रोट महोत्सवको संक्षिप्त कार्यक्रम विवरण यसप्रकार रहेका छन् ।
पहिलो दिन– वि.सं. २०७९ ज्येष्ठ २ गते वैशाखी पूर्णिमाका दिन गोरखा बजारस्थित सिद्धाश्रम शक्ति केन्द्रबाट बिहान ८ बजे सद्गुरुदेवहरूको रथसहित बाजा, कलशसहितका १०८ कन्याहरू, नाथयोगीहरू, प्लेकार्ड र व्यानरसहितका विद्यार्थी, शिक्षक, पत्रकार, महिला समूह, व्यापारी, गन्यमान्य व्यक्तित्व साधकसाधिका, भक्तजनहरू र झाँकीसहितको शोभायात्राको कार्यक्रम रहेको र शोभायात्रा विभिन्न ठाउँको परिक्रम गर्दै गोरख गुफामा गएर विसर्जन हुने, सोही दिनदेखि गुरु गोरखनाथलाई रोट चढाउनाका साथै झण्डोत्तोलन, ज्योत पूजन, नाथयोगीहरूको वरण कार्यक्रम सम्पन्न हुनेछ ।
ज्येष्ठ ३ गतेदेखि १२ गतेसम्म– गुरु गोरखनाथको विशेष पूजा, देवीदेवताहरूको पूजा, विशेष हवन, मन्त्रजप, स्तुति–वन्दना, स्तवन पाठ, दिव्य गुरु आरतीलगायत भजनकीर्तन र भण्डारा संचालन हुनेछ,
ज्येष्ठ १२ गते – कार्यक्रमको समापन दिवसमा पत्रम्पुष्पम्सहित रोट महोत्सवमा सक्रिय नाथयोगीहरू, अन्य सहयोगी, कर्मचारीहरूलाई विदाइ गरिनेछ ।