
रुकुम पश्चिमका विभिन्न स्थानमा चुनाव प्रचारप्रसारकाे क्रममा माओवादी कार्यकर्ता द्वारा नेपाली काँग्रेसका कार्यकर्ताहरुमाथी भइरहेको आक्रमणको विषयमा गृहमन्त्री बालकृष्ण खाणले गम्भीर चासो राख्नु भएको छ ।नेपाल प्रहरीका प्रमुख ,सशस्त्र प्रहरी प्रमुख ,अनुसन्धान विभाग प्रमुख ,गृह सचिव लगाएतलाई मन्त्रालयमा बाेलाएर रुकुम पश्चिममा तत्काल शान्ति सुरक्षा मजभुत बनाउन कडा निर्देशन दिनु भएको छ ।कुनै पनि नागरिकले असुरक्षाको महशुस गर्ने काम नहाेस भन्दै सुरक्षा निकायलाई त्यहि अनुसार काम गर्न गृहमन्त्री खाणले निर्देशन दिनुभयो ।
रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका ,त्रिवेणी गाउँपालिका र चाैरजहारी नगरपालिकामा वैशाख १८ यता माओवादीकाे आक्रमणमा परेर ३५ जना जति काँग्रेस कार्यकर्ताहरु घाइते भएका थिए ।यी विषयमा केन्द्रित हुदै गृहमन्त्री खाणले शान्ति सुरक्षामा कुनै कमि आउन नदिन उचित प्रवन्ध गर्न ती निकायहरुलाई निर्देशन दिदै आक्रमण तथा झडपमा संलग्नलाई नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन समेत दिनुभयो ।चुनाव अवधिमा कुनै पनि मानविय क्षति हुने घटनाहरु हुन नदिन सुरक्षा निकायहरुले चनाखो भएर काम गर्न समेत गृहमन्त्री खाणले अनुरोध गर्नुभयो ।
राजनीतिक विषयलाई लिएर यतिबेला अरु जिल्ला भन्दा रुकुम पश्चिममा गम्भीर प्रकृतिका घटनाहरु भएको सुचना आफू प्राप्त गरेको भन्दै गृहमन्त्री खाणले आगामी दिनमा त्यस्ता घटनाहरु दाेहाेरिए भने राम्रो नहुने भन्दै सुरक्षा निकायलाई सचेत समेत बनाउनु भएको थियोे । यसै विषयमा रुकुम पश्चिमकाे लागि चुनाव लक्षित घटनाक्रमहरुलाई मध्यनजर गर्दै नेपाल प्रहरीले थप बल पठाएको छ ।अरु थप बल पठाउने विषयमा पनि प्रहरीले आवश्यक तयारी गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।