काठमाडौ बाट भारतको मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज रोकेर प्रहरीको विशेष ब्यूरोले सुन चोरीमा संलग्न आरोपीलाई पक्राउ गरेको छ ।
आतंकवादमा संलग्न व्यक्ति मुम्बई उड्न लागेको भन्दै विशेष ब्यूरोको सूचनाको आधारमा विमानस्थल प्रहरीले जहाज रोकेको थियो । तर, उनी आतंकवादी नभएर सुन चोरीमा संलग्न व्यक्ति भएको खुलासा भएको हाे ।
विमानस्थलबाट कैलाली घर भएका सन्तोष लामिछानेलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार लामिछाने आतंकवादमा संलग्न व्यक्ति होइनन् उनीमाथि पंजाबमा एकजना साहुको घरबाट सुन चोरेको आरोप छ ।
बित्थामा ‘सुन चोर’ समात्न प्रहरीले १ घण्टा जहाज होल्ड गरेको छ । भारतको मुम्बई जान लागेको वायुसेवाको विमान चेकजाँचका कारण एक घण्टा रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले जनाएको छ ।
विशेष ब्यूरोको एउटा टोली कैलालीमा सुन चोरीको अनुसन्धानका लागि गएको छ । सो टोलीले भारतमा सुन चोरेर आएका लामिछाने मुम्बई उड्न लागेको सूचना दिएको एकजना उच्च प्रहरी अधिकारीले बताए ।आतंकवादी गतिविधिमा संलग्न व्यक्ति समातेको भन्दै ठुलो हल्ला मञ्चिएकाे थियोे ।