दक्षिण कोरियामा कार्यरत एक नेपालीको मंगलबार सवारी दुर्घटनामा निधन भएको छ ।कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिए ।मगर इपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ वर्षअघि कोरिया पुगेका थिए ।
गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको उनका सहकर्मीलाई उदृत गर्दै गुरुङले जानकारी दिए ।
साँझ निस्किएका मगर बिहानसम्म पनि नफर्किएपछि उनका सहकर्मीहरु खोज्न जाँदा साईकल र चप्पल भेटिएपछि प्रहरीसँग सोधपुछ गर्दा घटनाका विषयमा जानकारी पाएको उनीहरुले बताए ।घटनाका विषयमा दूतावासलाई जानकारी गराइसकिएको र शव पोछनस्थित स्थानीय अस्पतालमा राखिएको गुरुङले बताए ।