धिरेन्द्र भट्ट/काठमाडौ
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछाने युएईमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्न दुबै प्रस्थान गरेका छन्। सर्बोच्च अदालतले उनलाई बिदेशमा खेल्न नपाउने निलम्बन फुकुवा गरेपछि उनी आज दुबै तर्फ प्रस्थान गरेका हुन्।
उनी विरुद्ध जिल्ला अदालत काठमाडौमा बलात्कारको अभियोग विचाराधीन छ। जिल्ला अदालत काठमाडौले २० लाख धरौटी रकम र केहि सर्तहरु सहित छोड्न फैसला सुनाएको थियो। जसमा देश बाहिर क्रिकेट खेल्न नपाउने समेत रहेको थियो।
उक्त आदेश विरुद्ध सन्दीपले सर्बोच्च अदालतमा विदेशमा खेल्न पाउने माग सहित निवेदन दिएका थिए। गत सोमबार सर्बोच्चले जिल्ला अदालत काठमाडौको फैसला बदर गरेपछि उनी विदेश जान पाउने भएका छन्।
दुबईमा घरेलु टोलि युएई, नेपाल र पपुवा न्यू गिनी बीच एकदिवसीय त्रिकोणात्मक शृङ्खला जारी छ। सर्बोच्चले आदेशमा ढिलाइ गरेपछि सोमबार पपुवा न्यू गिनी विरुद्धको खेल सन्दीपले गुमाएका थिए। तर, भोलि हुने युएई विरुद्धको खेल उनले खेल्न पाउने भएका छन्।
नेपाली टोलिका मौसम ढकाल ब्याटिङ अभ्यासका क्रममा चोटिल भएपछि उनको ठाउँमा सन्दीपलाई टिममा समावेश गरिएको छ। जसका लागि आज अपराह्न ३ बजेको जहाजमा उनी दुबई प्रस्थान गरेका छन्। उनी सँगै क्यानका एक सदस्य पनि दुबई गएका छन्।
नेपालले विश्वकप लिग-२ अन्तर्गतका पछिल्ला ५ खेलमा लगातार जित हासिल गर्दै थुप्रै कीर्तिमान बनाएको छ।