दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्किनुभएका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई आज लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बीच स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन् ।कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीलाई रुपन्देही निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीलाई बुद्धजन्मस्थलमा खादा ओढाएर स्वागत गरे ।
कोरियाली बौद्ध तीर्थयात्रीको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए । पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको उपस्थिति रहेको छ ।प्रार्थना र पूजामा प्रतिनिधिसभा सदस्य घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थल लुम्बिनी आएका बौद्ध भिक्षुसहितको टोलीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले यस्ता भ्रमणले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।