आजदेखी नयाँबर्ष विक्रम संवत् २०८० सुरु भएको छ। गएको बर्ष ०७९ सालमा पत्रकारमाथि आक्रमणका ५१ घटना भएको तथ्यांक सार्वजनिक भएका छन्। नेपाल पत्रकार महासंघले नयाँबर्षको पहिलो दिन(शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै गतबर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका ५१ घटना भएको जनाएको हो।
महासंघले गतबर्ष नेपाली पत्रकारिता क्षेत्रका लागि थप चुनौतीपूर्ण बर्ष रहेको निष्कर्ष निकालेको छ।
पत्रकार महासंघमा अभिलेखिकरण भएअनुसार ०७९ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ५१ घटना भएका छन्। पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुर्ववहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नितिगत बन्देज गरि ५१ घटना रहेको महासंघले विज्ञप्ति मार्फत जनाएको छ।
यो संख्या ०७८ सालको तुलनामा भने कम रहेको छ। महासंघमा अभिलेखिकरण भएअनुसार ०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका विभिन्न ७४ घटनाहरु भएका थिए।
पछिल्लो समय युट्युबलगायत सञ्चारका विभिन्न माध्यममा प्रसारित कतिपय कन्टेन्टका आधारमा समग्र पत्रकारिता क्षेत्रप्रति नकारात्मक धारणा फैलिएकोप्रति महासंघले जोड दिएको छ। महासंघले पत्रकारिता क्षेत्रप्रति फैलिएका विभिन्न प्रकारका नकारात्मक धारणा सुधारका लागि थप प्रभावकारी प्रयासको खाँचो रहेको जनाएको छ।