दक्षिण कोरियामा नेपाल र दक्षिण कोरियाको साझा सहभागीतामा नेपाल–कोरिया सांस्कृतिक आदानप्रदान कार्यक्रमको सम्पन्न भएको छ। अक्टोबर २८ तारिखमा नेपाली राजदुतावास, विश्व बहुसांस्कृतिक महासंघ, जिउमचेवन कल्चर र नेपाल विद्यार्थी समाज(सोनसिक) दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो।
कोरियाको राजधानी सिओलमा स्थित रहेको नेपाली राजदुतावासले गत अक्टोबरमा सुचना पत्र निकाल्दै दुई राष्ट्रको संयुक्त सहभागितामा कार्यक्रम आयोजना हुने जनाएको थियो। नेपाल-कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा आगामी बर्ष २०२४-२५ मा नेपाल-कोरिया बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ।
सोही कार्यक्रमको तयारी स्वरुप अक्टोबर २८ मा नेपाल–कोरिया सांस्कृतिक आदानप्रदान कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको थियो। कार्यक्रम कोरियाको ‘गुम्छन् गुछङ देखाङ्दाङ’ मा दिउँसो १:३० बजेदेखि ५ बजेक बिच कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा कोरिया र नेपालका स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए। कार्यक्रमले नेपाल-कोरिया बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको लागि पृष्ठपोषण उपलब्ध गराउने दूतावासले जनाएको छ। आयोजकले कार्यक्रम आयोजना हुनुभन्दा अघि नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउन कार्यक्रमले ठूलो भुमिका खेल्ने अपेक्षा समेत राखेको जनाएको थियो।
आयोजकले कोरियामा रहेका नेपालीहरुलाई नेपाली भेषभुषा सहित उपस्थित हुन अनुरोध गरेको थियो। यसका साथै कार्यक्रम आयोजनाको जानकारी दिदै आयोजकले कार्यक्रमको सफलतापुर्बक संचालनका लागि आवस्यक सहयोगको माग गरेको छ।
कोरियाका लागि नेपाली राजदुत प्राध्यापक डा. ज्योति प्याकुरेल (भण्डारी), गुम्छन कल्चरल सेन्टरका निर्देशक सन जिओङ गि कोरीयाली राष्ट्रिय सभा सदस्य चोई की संग कोरियास्थित नेपाली नियोगका काउन्सिलर पुष्पराज भट्टराई, गुम्छन्-गु, काउन्सिलका अध्यक्ष किम योङ सुल कोरियास्थित नेपाली नियोगका द्वितीय सचिव सूर्यबहादुर थापा, ग्लोबल बहुसांस्कृतिक महासंघका अध्यक्ष जाङ डु याक, आयोजक सोनसिकका सभापति मेघनाथ पौडेल, एनआरएनए कोरीयाका पूर्व अध्यक्ष लक्ष्मी गुरुङ, एमटियु अध्यक्ष उदय राई, पत्रकार महासंघ कोरियाका अध्यक्ष किशन गौतम लगायत, कलाकार्,विद्यार्थी, मजदुर र अन्य पत्रकारहरुको सहभागी रहेको थियो।
दुई चरणमा रहेको कार्यक्रमको दोस्रो चरणको पहिलो प्रस्तुति नेपाल तर्फको रहेको थियो। कलाकारहरु मिलन थापा, सन्तोष बिसी, विकास नेपाली र सुधीर बि सी ले नेपाली वाद्यबादन: लाईभ इन्स्ट्रमेन्टल (रेशम फिरीरी) प्रस्तुति दिएका थिए।
कलाकारहरु खिम छन्त्याल, रेशमराज अर्याल, अनिता अधिकारी, मीना लोप्चन, मिता गुरुङ, विमल अधिकारी, प्रमोद भुसाल, र विपना अधिकारी हरुले नेपाली लाईभ लोकदोहोरीमा पानको पातको लयमा कोरियामा रहेका श्रीमान र नेपालमा रहेकी श्रीमती बिचको भलाकुसारिको बिषयमा दोहोरी गाएका थिए।
संगीतका साथै श्रेया श्रेष्ठ, बादल रुबी, सुनिता आचार्य, सरस्वती कार्की, दीक्षा गेलाल र सिर्जना सापकोटाहरुले परम्परागत नेपाली नृत्य प्रस्तुत गरेका थिए।
कलाकारहरू हिमाल मोक्तान र सुनिल बुद्धि गुरुङले नेपाली देशभक्ति गीत मेरो नेपाल मलाई लाग्छ प्यारो गित गाएर प्रस्तुती दिए। नेपाली सांस्कृतिक नृत्य अन्तर्गत आरति चौधरी र रेश्मा चौधरी चौधरी नृत्य र सरस्वती तामाङ र सन्नी मगरले तामाङ नृत्य प्रस्तुत गरे। कार्यक्रममा नेपाली रिमिक्स आधुनिक गितको प्रस्तुति पनि रहेको थियो जसको भुमिका साहस मल्ल र बुद्धिमान गुरुङले निर्वाह गरेका थिए। सुश्री सुवि मानन्धर, ठकुरी विवेक, शेर्पा दावा डोल्मा, र आयुष उप्रेतीद्वारा नेपाली आधुनिक नृत्य रैछौ परानी प्रस्तुत गरिएको थियो।
यस्तै कोरिया तर्फबाट कोरियाली नान्ता बुक नृत्य, कोरियाली हुला नृत्य, कोरियाली मौलिक गित, कोरियाली ग्यागेम, कोरियाली हार्प (कंडक्टर: मिस्टर जेम्स जे ओङ), कोरियाली मास्क नृत्य, कोरियाली परम्परागत गितको विभिन्न कोरियाली कलाकारहरू मार्फत प्रस्तुती रहेको थियो।
कार्यक्रमको प्रायोजन कोरिया र नेपाल दुबै तर्फबाट विभिन्न संघ संस्थाहरुले गरेका थिए। नेपालको तर्फबाट सोहिमध्ये रहेका जिएमई रेमिटेन्स-नेपाल, बागमती प्रदेश संयुक्त समाज बागमती प्रदेश समाज कोरिया, गण्डकी प्रदेश समाज, एनआरएनए दक्षिण कोरिया (एनआरएनए कोरिया), सुदूरपश्चिम समाज दक्षिण कोरिया,एनसिसि कोरिया, माया मार्ट, जिकेएस कोरिया, सेन्टवी रेमिटेन्स, केटिएम टु सिउल, एभरेस्ट रेस्टोरेन्ट, नेपाल टूरिजम बोर्डलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।
तस्बिरहरु