
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस संक्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिइ परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ ।
नेपालमा हालसम्म संक्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको सातौँ संक्रमण स्थानीयमा देखिनुको अर्थ मुलुक अब दोस्रो चरणमा पुगेको काँग्रेसले जनाएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत ती महिलाले संक्रमण मुलुक बाहिरबाट लिएर नआएको तर सतर्कता नअपनाउँदा संक्रमति बन्न पुगेको उल्लेख गरेका छन । “समयमै दोहोरो अन्तरराष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन”, विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसअघि सङ्क्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूह सबैको तत्काल परीक्षण गर्न उनले सरकारसँग अपिल गरेका छन । काँग्रेसले बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न सबै स्थानीय तह र स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ ।रासस