
कोरोना भाइरस संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्क्स्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ।आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ। चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।
‘हामीले अति सावधानीपूर्वक बाघको परीक्षण गरेका छौं र कोभिड–१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं,’ चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भाइरस संक्रमणका कारण बाघको आहार घटेको छ। यद्यपि भेटेरिनरी सेवाअन्तर्गत रहेको बाघ तेजिलो र चनाखो नै रहेको चिडियाखानाले बताएको छ। विभिन्न जनावरले नयाँ संक्रमणलाई विभिन्न तरिकाले प्रतिक्रिया जनाउने हुँदा बाघ र सिंहजस्ता जनावरमा भाइरस कसरी विकसित हुन्छ भन्ने अझै अज्ञात रहेको भन्दै चिडियाखानाले सबै जनावरलाई नजिकबाट नियाल्ने जनाएको छ। चिडियाखानाका अन्य ठूला जनावरमा भने भाइरसको कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ । यो खबर आजको कान्तिपुर दैनिकले प्रकाशित गरेकाे छ ।