कवि अमृता स्मृतिसँग हाम्राखबर अनलाईनका लागि लिइएकाे अन्तर्वार्ता ।
साहित्यमा लाग्नुको कारण ?
जसरी एउटा सुन्दर फुलमा भमरा झुम्मिन्छ त्यसरी नै साहित्यिक हृदय साहित्यमा झुम्मिन्छ ! सिर्जना सभ्यता र अस्तित्वसँग जाेडिन्छ । साहित्यकाे जादूगरीमा लाग्नुकाे कारण हुँदैन ! किनभने कारण अगाडि राखेर कसैले लेख्दैन जस्ताे लाग्छ । सिर्जना स्वतस्फूर्त हुन्छ ।
कति वर्षको उमेरमा साहित्यमा लाग्नुभएको ?
देश युध्दमा डुबेकाे थियाे ! माओवादी र सरकार पक्षकाे युध्दमा धेरै सर्वसाधारणले सास्ति खेप्नु परेकाे बेला मेराे बालमष्तिक पनि ग्रसित थियाे । सायद यहि अमानवीय गतिविधिले मेराे मुटु हल्लाएकाे हुनुपर्छ-म ९ वर्षकाे छँदा पहिलाे पटक ‘बाल बृध्द नमार’ भन्ने शिर्षकमा कविता लेखेर मावि स्तरिय प्रतियोगितामा पुरस्कृत भएकाे खुशी ताजै छ !
कवितामा कसको प्रेरणाले लाग्नुभयो ?
मान्छेले जीवनकाे अन्तिम क्षणसम्म पनि समाज,व्यक्ति,परिवार,चेतना,अध्ययन र विभिन्न बिचारहरुबाट प्रेरणा पाइरहन्छ । यसर्थ एउटाबाट प्रेरित भन्नु अर्काे प्रेरणा छुटाउनु हाे । र पनि मेराे पहिलाे प्रेरणा मेरी आमा र दाेस्राे प्रेरणा विद्यालयमा पढेका लक्ष्मीप्रसाद देवकाेटा, भूपी शेरचन,भानुभक्त आचार्य र माधव घिमिरे लगायतका कविता र तेस्राे प्रेरणा पाठककाे माया जसले मलाई झकझकाइ रहन्छ। त्यसपछी समयसँगै प्रेरणाका स्राेतहरू थपिँदै गए ।
कविता बिधा रोज्नुको कारण ?
सबै बिधालाई साेचेर अर्थात् कविता सर्वश्रेष्ठ अरु बिधाभन्दा भन्ने लागेर मैले कविता बिधा छानेकाे हाेइन । कविता राेज्छु अर्थात् कवितै राेज्नुपर्छ भन्ने चेतनाले पनि हाेइन । कविताकाे शक्ति, कविताकाे सामर्थ र यसकाे घनत्वकाे प्रेममा मेराे कलम पर्याे ! कविता र कलमकाे अफियर भएपछि कुन बिधा लेख्ने,कुन नलेख्ने विचारका द्वन्ध उब्जाउने सामर्थ सायद लेखकभित्र नहुँदाेरहेछ ।
कस्ता विषयवस्तुले तान्छ ?
स्वभाविक हाे मानिसका संवेदनाहरू र प्रकृतिले बढी तान्छ । यस्तै विषयवस्तुले तान्छ भन्ने ठ्याक्कै त्यस्ताे केहि हुँदैन । किनभने समयअनुसार धर्म, संस्कृति, भाेगाइ परिवेशमा परिवर्तन आउँछ र परिवर्तनसँगै कवि हृदयलाई छुने विषयवस्तु पनि फरक -फरक हुन्छन् !
पछि सम्म कविता लेखिरहनुहुन्छ?
जीवनकाे यति कालखण्ड कविता लेख्छु भनेर कविता लेखिन्न । कविता लेख्नु खेलाँची कुरा हाेइन । लेख्दैमा सबै कवि हुँदैनन् जिन्दगी भर साधक मात्र पनि हुनसकिन्छ । कवि हुन त कवितै लेख्नुपर्छ कुरा लेखेर हुँदैन ।त्यसैले सिर्जना स्वतस्फूर्त कुरा हाे । कविता लेख्न हाम्रा अग्रज कविहरूले ठूलाे त्याग,तपस्या अध्ययन गर्नुभयाे ! हेराैं त्यसमा कति समर्पित हुनसकिन्छ ।