
जिन्दगीमा पहिलोपटक फरक प्रकृतिका स्टाटसहरु देख्दा आश्चार्यचकित नहुनुहोला । रुकुमका पुराना शिक्षक कर्मचारीहरुले आत्मासाक्षी राखेर सम्झिनैपर्ने एउटा नाम गोपाल जी जङ्ग शाह । त्यही भएर सम्झेको हो । उहाँले कर्मचारीप्रति गरेको व्यवहार कहिल्यै पनि पुर्वाग्रहपूर्ण हुदैनथ्यो । राजनीतिक पदाधिकारीहरुसंग कुनै न कुनै रुपमा कुनै न कुनै विन्दुमा कुनै न कुनै प्रकारको सम्बन्ध हुने नै भयो । तर गोपाल जी जङ्ग शाह मार्फत कर्मचारीलाई यो काम गर्नैपर्छ भनेर कहिल्यै दवाव आएन । “ए बाबु यस्तो कामको लागि उहाँहरु आउनु भएको छ । मिल्ने हो कि के हो ?” यस्तो सरल भाषामा फोन गर्ने उहाँको स्वभाव थियो । म शिक्षामा कार्यरत । शिक्षाका सेवाग्राहीहरु शिक्षक समुदाय आफैमा ऐन¸ नियम¸ कानुनको बारेमा जानकार भएको हुँदा गर्न नमिल्ने कुरामा उहांहरुको दवाव नै हुदैनथ्यो । गर्न मिल्ने कामलाई ढीलो चाँडोको कुरा मात्रै हुन्थ्यो । गोपाल जी जङ्ग शाहले कहिलेकाही मात्र “यस्तो काम गर त बाबु” भन्नुहुन्थ्यो । सहजै काम हुन्थ्यो ।
भेट हुँदा उँज्यालो मुख लाएर नमस्कारको प्रतिउत्तर दिने । मित्रवत् रुपमा चपक्क हात समाएर अलि परसम्म डोर्याउने । बाजेदेखि नातिसम्मको पुरै हालखबर सोध्ने । एकपटक चिनेको मान्छेको नाम¸ थर¸ ठेगाना कन्ठस्थ । जस्तोसुकै अवस्थामा पनि “के छ बाबु ?” भन्ने यिनै हुन् उहाँबाट प्रभावित हुने विशेषताहरु ।
राजनीतिमा सँधै लिनेदिने मात्रै हुदैन । मैले उहाँलाई सम्झेपनि¸ आदर सम्मान गरेपनि हालसम्म भोट नहालेको साँचो हो । म १ नम्वरको मतदाता उहाँ २ नम्वरको उम्मेदवार । २०४८ सालमा १८ बर्ष नपुगेपनि अर्काको नामबाट संयुक्त जनमोर्चाका खड्गबहादुर बुढालाई भोट हालीयो । गोपाल जी जङ्ग शाह रुकुम २ नम्वरबाट विजयी हुनुभयो । पहिलो दोस्रो संविधान सभाको के कुरा गरम १ नम्वरबाट उम्मेदवार उनै गणेशमान पुनहरु ! त्यसपछि भोट हालिएको छैन । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनमा नेपाल निजामती कर्मचारी युनियन रुकुमलाई झ्याप्पै भोट ! गएको संघ¸ प्रदेश र स्थानीयमा भोट हाल्ने अधिकार नै भएन । उनै बाबुराम भट्टराईलाई नैतिक समर्थन भयो टाढैबाट । बुढाले धौधौ जिते काँग्रेसकै समर्थनमा ! अब आगामी दिनमा उता बाबुराम भट्टराई र यता गोपाल जी जङ्ग शाहको राजनीतिक गन्तव्य के हुन्छ ? मैले जान्ने बोल्ने कुरा भएन !
वर्तमानमा १।२ मतको लागि राजनीति हुदैन ! एकमुष्ट हजारौँ मतमा “डिलिङ्ग” र अपेक्षा हुन्छ ! १।२ वटा मतको महत्व नहुन्जेल वयक्तिगत टिकाटिप्णीको अर्थ छैन । बाहिर बोल्ने कुरा एउटा होला तर पार्टी भित्र रहेपनि बाहिर रहेपनि सन्तुष्टी असन्तुष्टी सबैका हाल उही हुन् । राजनीतिमा ज्यान फालेर लागेपनि नलागेपनि जबसम्म प्रत्येक मतदाताको एउटाएउटा मतको महत्व लोकतन्त्रमा हुदैन तवसम्म यस्तै सम्झिने मात्रै हो ।
कोरोनाबाट ज्यान जोगाउन सकियो र भविष्यमा एउटा मत पनि कुनै पार्टीलाई जरुरी पर्ने देखियो भने उतिखेरै सोचविचार गरौँला । “यही सरकार यही कार्यशैली र स्प्रिडका साथ पाँच बर्षसम्म निरन्तर टिकोस ! सत्तारुढ नेकपाको एकता कुनै हालतमा नटुटोस ! वर्तमान प्रधानमन्त्री नेतृत्वको सरकारले नै आगामी निर्वाचन बनाओस ! र¸ भोट कसैलाई नहाले पनि यही सरकारले बनाएको आगामी निर्वाचनको परिणाम लाउड स्पिकरको Highest Sound मा कानका जाली टट्टाउनेगरी सुन्न पाइयोस” अहिलेलाई यत्तिकै ! अघिल्लो स्टाटसमा प्रतिक्रिया दिने सबै महानुभावहरुलाई धन्यवाद !
नाेट: सामाजिक सञ्जाल स्तम्भ अन्तर्गत हामीले आइतबार बिनाराम खड्काले नेपाली काँग्रेस रुकुमका नेता तथा पुर्व राज्यमन्त्री गाेपाल जी जङ्ग शाहलेे शुभकामना सन्देश सधैं पठाउने सन्दर्भलाई जाेडेर ब्यक्त गरिएका खड्काका धारणा यहाँ प्रस्तुत गरेका थियौ ।साेमबार फेरि आइतबारकाे पाेस्टमा आएका प्रतिक्रिया तथा समिक्षा सहित खड्का द्वारा ब्यक्त धारणा फेरि राखेका छाै ।खड्का मुसिकाेट नपा अन्तर्गत शिक्षा अधिकृत छन । सम्पादक