
आजभोलि जनार्दन शर्माज्यु कविता पनि लेख्नुहुन्छ ! सम्झिरहेको थिएँ उहाँका पछिल्ला स्टाटसबारे केही लेखौँ कि !? संयोग आज जन्मदिन परेछ ! शुभकामनाले फेसबुकका भित्ता रङ्गी विरङ्गी देखेपछि उहाँको जन्मदिनको शुभकामना सहित मैले पनि ओकलेँ २९८ शब्दको स्टाटस !
अन्तरह्रदयदेखि नै नेता मान्नको लागि नेतृत्वमा धेरै गुण हुनुपर्छ ! सम्पुर्ण रुपले नेता र अभिभावक मान्न नसकिए पनि रुकुम जिल्लाको सन्दर्भमा ध्रुवविक्रम शाह¸ गोपाल जी जङ्ग शाह¸ ताराबहादुर घर्तीमगर¸ खड्गबहादुर बुढा लगायतका अग्रज नेतृत्वपछि सबैभन्दा लोकप्रिय र प्रभावशाली नेता हुनुहुन्छ माननीय सांसद जनार्दन शर्मा !
दशकौसम्म अन्याय¸ विभेद¸ असमानताको विपक्षमा न्याय¸ समानता र स्वतन्त्रताको पक्षमा लड्ने योद्धाको रुपमा परिचय बनाउनु भएका उहाँ पुर्व निजामती कर्मचारी समेत हुनुहुन्छ भने देशको कर्मचारी प्रशासन संचालनको लागि कानुन बनाउने निकायको एक महत्वपुर्ण अग्रभाग राज्य व्यवस्था तथा सुशासन समितिको सक्रिय सदस्य पनि !
कलियुगमा अन्यायको कारक राजनीति हो र यसको निदान पनि राजनीति नै हो ! भनिन्छ कर्मचारीको लागि राजनीतिज्ञ एक निर्दयी अभिभावक हो ! रुकुम पश्चिमको प्रतिनिधि हुनुको नाताले प्रतिनिधित्वको सिद्धान्त बमोजिम उहाँ मेरो पनि प्रतिनिधि हो ! मेरो पनि अग्रज हो !
आफुलाई अन्याय र विभेद महशुस भएपछि¸ स्थानीय तहमा २०६६ सालको अधिकृतलाई २०७५ सालको अधिकृतभन्दा मातहत राखेपछि¸ आठौँ तहभन्दा सातौँ तह उपर हो भन्ने निर्क्यौल भएपछि मनमा उत्पन्न जिज्ञासा मेटाउन जनार्दनलाई भेट्न पुगेको थिएँ म पनि ।
तर उहाँले न्याय दिन त सक्नुभएन यद्धपि ‘किन भेट्न गएँ हुँला’ भन्ने अवस्था पनि आउन दिनु भएन ! कमसेकम सौहार्द भाव सहित पठाउनु भो ! यत्ति गरेकोमा समेत उहाँप्रति हार्दिक आभार व्यक्त गर्नुपर्छ !
‘यस्तो नहुनुपर्ने हो तैपनि स्थानीय साथीहरु मार्फत….’ भन्ने उहाँको कथन रह्यो !
इतिहासका कुनै कालखन्डमा आत्मैदेखि अत्यन्तै सम्मान गर्ने र अग्रज अभिभावकमा आत्मिक रुपमा सर्वस्वीकृत तर हाल आँशिक मात्रामा¸ तुलनात्मक रुपमा अरुभन्दा ठीकठीकैको अवस्थामा रहनुभएका¸ अर्को कुनै वैकल्पिक व्यवस्था नहुन्जेलसम्मको लागि रुकुम जिल्लाका एकमात्र लोकप्रिय नेता श्री जनार्दन शर्मालाई जन्मदिनको मेरो पनि शुभकामना !
यहाँको न्याय र समानताको लडाइले निरन्तरता पाइरहोस !
लेखक : बिनाराम खड्का मुसिकाेट नगरपालिका अन्तर्गत शिक्षा अधिकृत हुन ।उनी बेला बेला समसामयिक बिषयमा यथार्थ र खराे टिप्पणी पनि लेख्छन ।