नेपालमा दलितहरु बिगत सात दशकदेखी हामीलाई पनि मानव सरह बाच्न दिनुहोस भन्दै संघर्षरत छन । तिनै संघर्षले गर्दा राज्यले कानुनी रुपमा केही परिवर्तन गर्न सफल भएको नै मान्नुपर्छ । तर सामाजिक प्रवृत्ति भने टसमस परिवर्तन भएको भेटिदैन । समाज परिवर्तनको मुल एजेन्डा लिएर बिगतमा दलित आन्दोलनका नाममा आफ्नो स्वार्थ पूरा गर्ने राजनीतिक दलहरूले हिजो आज दलित समुदाय लाई नै दवाव दिने तथा थप विभेदयुक्त समाज निर्माणमा अग्रसर भएको देखिदैछ, भने गैरदलितहरुको मनोबल झनझन उच्च बनाउने र समाज तथा राष्ट्रको समस्या समाधान भन्दा पनि थप समस्यामा धकेल्ने देखिन्छ । हालसालै घटेको कास्किको बाटुलेचौर घटना र कास्कीका सांसद तथा नेकपाका अध्यक्ष कृष्ण बहादुर थापाले गरेको ब्यबहारले पनि यो कुराको थप पुष्टि गर्छ ।
अब आउनुहोस नयाँ बिषयमा छलफल गरौं , हामी समाज निर्माण र राष्ट्र निर्माणका भोका छौं । हामीले सु-संस्कृत ,विभेदरहित समाज निर्माण गर्न पनि चाहन्छौं ,तर आफ्नो मिथ्या विरासतलाई थाती राखेर । आफ्नो जातीय अहमता लाई लिएर बर्षौदेखी शोषित समाजलाई थप अनेक रुपहरुमा शोषण गरिएको छ । दलित आन्दोलनका बहानामा ,चेतना स्तर बढाउने बहानामा ,शिक्षित बनाउने बहानामा दलितहरुलाई राजनीतिक कार्यकर्ता बनाइए ।उनिहरुकै ढाडमा टेकेर हजारौंले राज्यको डाडुपन्यु चलाउने ठाउँसम्म पुगे पनि तर उनिहरुलाई साथ दिने समुदाय भित्र उपलब्धि हेर्ने भने जहाँको त्यही छ । के गैरदलितले कुसंस्कार छोडे त ? दलितलाई मानव सरह व्यबहार गर्छन त ? के सभ्य र शिक्षित गैरदलितले जातिय विभेद गर्दैनन त ?
गैरदलितलाई शिक्षा किन ?
प्रश्न यहि नेर गम्भीर रुपमा अड्केको छ । के सभ्य र शिक्षित गैरदलितले जातिय विभेद गर्दैनन त ? उनिहरु किन बुझेर पनि बुझ पचाउन सक्छन ? उनिहरुमा के त्यही पुरानो जातिय अहमता कायम रहेको हो ? आफ्नो एकल जातिय स्वामित्व डगमगाउने डर छ ? कि जातीय विरासत को भ्रमणबाट मुक्त हुन नसकेका हुन ? कि सभ्य समाज निर्माण नहोस भन्ने चाहना छ ?
दलितहरूको बिगत सात दशकदेखिको आन्दोलनले दलितहरूलाई बिद्रोही बन्न सिकायो । समाजको कुरिती ,कुसंस्कार ,विभेद ,भेदभाव ,छुवाछूतका विरुद्ध लड्न सिकायो । एकता गर्न सिकायो ,राज्यमा आफ्नो भुमिका खोज्न सिकायो । तर त्यही समाज राज्य निर्माणको अहम भुमिका हुने गैरदलितहरुलाई मानव-मानव एउटै हौं भन्ने शिक्षा दिन किन सकिएन ? उनिहरुमा विभेद गर्नुहुदैन भन्ने चेतना स्तर उकास्न हाम्रा आन्दोलनहरुले किन सकेनन ? छुवाछूत कानुनतः अपराध हो भनिएपनी यो मानवीय संवेदना पनि हो भन्ने कुरा किन सिकाउन सकिएन ? जबसम समाजमा विभेद गर्नेहरुको चेतना स्तर सुधार्न सकिँदैन सभ्य समाज निर्माण गर्न सकिँदैन । जबसम्म सभ्य समाज निर्माण गर्न सकिँदैन, बिकास र समृद्धिको आयामहरुले फड्को मार्लान र ? यो प्रश्न आफैमा गम्भीर छ ।
८०लाख दलितहरुलाई मानिस सरह व्यबहार नगर्ने रोगी मानसिकताले भाैतिक बिकासको लहर ल्याउन सक्दैन मेरो ब्यक्तिगत धारणा हो । हुनत औपचारिक शिक्षामा दलित र गैरदलितको आकाश जमिनकै अन्तर अझै कायम नै छ । यसले पाठकबर्गले भन्न सक्नुहुनेछ गैरदलितहरु शिक्षित छन शिक्षाको खाँचो त दलितहरुलाई नै छ । उनिहरु शिक्षित भए भने मात्रै पनि सभ्य समाज निर्माण गर्न सकिन्छ भन्ने तर्क आउन सक्ला तर यो एउटा भ्रम हो । दलितहरु मात्रै शिक्षित हुँदा बिद्रोह हुन्छ ।यसले मिलिरहेको समाजलाई द्वन्दमा धकेलिदिन्छ । नेपालको अधिकांश ठाउँमा हामी हेर्न सक्छौ सामाजिक सद्भाव नखल्बलियोस भनेर बिद्रोह नगर्ने ,चुपचाप सहिदिने दलितहरू प्रशस्त छन ।
तर यहि नेर गैरदलितहरु शिक्षित हुने हो भने यस्ता घटना दोहोरिने थिएनन। समाज बिकासको चरणमा द्रुतगतिमा अगाडि बढ्न सक्छ । यस मानेमा अबका गैरदलित युवाहरुले गम्भीर समिक्षा गर्न जरुरी छ । हामी सभ्य र समुन्नत समाज निर्माण गर्नमा हाम्रो चेतना स्तर सुधार्न जरुरी छ । जबसम्म गैरदलितहरुको चेतनास्तरमा सुधार आउदैन तबसम्म सभ्य , सु-संस्कृत,विभेदरहित समाजको निर्माण हुँदैन भने बिकास र समृद्धिको सपना पनि लंगडो बन्नेछ ।