
देशभर कोरोना रोगको संक्रमणले लकडाउन भइरहे पनि रुकुम पश्चिमका नागरिकहरु भने लकडाउनलाई उपयोग गर्न थालेका छ्न । लकडाउनमै बसेका स्थानीयहरुले यतिबेला समयको सदुपयोग गर्दै स्थानीय घोरेटाे बाटो निर्माण गर्न लागि परेका हुन । आठबिसकोट नगरपालिकाले कामका लागि खाद्यान्न कार्यक्रम लागू गर्दै एक घर एक रोजगार कार्यक्रम लागु गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका सबै १४ वडाका स्थानीयहरु यतिबेला स्थानीय बाटो निर्माणमा जुटेका छन । लामो समयदेखिको लकडाउनले स्थानीयहरु घरमा बसेर दिन बिताउनुभन्दा आफ्नै घर आगनमा हिड्ने बाटो बनाउन थालेका हुन । स्थानीयहरुलाई बाटो निर्माण गर्ने अवसर भने आठबिसकोट नगरपालिकाले जुराई दिएकाे हो । अहिले नगरपालिकाले १४ वडाका करिब ७ हजार घरधुरीका प्रतिघर १ जनाका दरले ७ हजार जनाले रोजगार पाएका छन । प्रत्येक १० घरको १ कमिटी बनाएर ७ सय ३० टाेल कमिटी गठन गरि बाटो निर्माणमा जुटाएकाे छ ।

आ-आफ्नो टाेल कमिटीले आ – आफ्नो गाँउघरको बाटो आफै बनाउन लागिएको हो । स्थानीयले १० दिन काम गरेपछि ५० किलो चामल पाउने भएका छ्न । लकडाउनका कारण खाने समस्या भएकाहरुका लागि कामका लागि खाद्यान्न कार्यक्रम प्रभाकारी हुने आठबिसकोट नगर प्रमुख गोर्ख बहादुर केसि सन्देशले बताए । दुई महिनादेखी लकडाउनमा बसेकालाई काम दिइएको छ । गाउमा कोहि पनि नया मान्छे प्रवेश गर्न नपाएको र अहिले सम्म कोहि पनि बिरामी नपरेकोले काम लगाइएकाे हो ।