महोत्तरी- मुखमा आएको बालीनाली बाँदरले सखाप पारेर विरक्तिएका महोत्तरीका किसानबीच अहिले ‘बाँदर भगाउने यन्त्र’ लोकप्रिय बनेको छ ।
नेपाली वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ‘बाँदर भगाउने यन्त्र’ जिल्लाको उत्तरी क्षेत्रमा लोकप्रिय बनेको हो । जिल्लाको बर्दिवास नगरपालिका-३ पाटुका किसान कृष्ण घिमिरेले आँप बगैँचा र मकैबारीमा यो यन्त्र पड्काएर बाँदर धपाउन थालेपछि यसबारे किसानको चासो बढेको हो ।
सामान्य प्लाष्टिकको पाइप जोडेर बनाइएको यस यन्त्रमा थोरै कार्बाइड पानीमा घोलेर लाइटर बालेपछि पड्कने ठूलो आवाजले बाँदर भाग्ने गर्छन् । झट्ट परबाट हेर्दा यो यन्त्र बन्दूकजस्तै देखिन्छ । बन्दूकजस्तो देखिने र ठूलो आवाजले पड्कने हुँदा बाँदर भगाउन यो यन्त्र प्रभावकारी भएको कृषकहरुको भनाइ छ ।
सम्बन्धित स्थानीय तहको वडा समितिको सिफारिसमा केन्द्रले उपलब्ध गराउने यो यन्त्रमा थोरै कार्बाइड किन्न मात्र खर्च लाग्ने गर्छ । पहिलोपटक रु १०० मा ल्याएको कार्बाइड ५० पटकसम्म पड्काउन पुग्ने गरेको छ । वन्यजन्तु मार्न नपाइने, छोप्न पनि नपाइने, लखेट्दा टाढा नजाने र फर्की–फर्की आउने गरेका बाँदर अब यसको प्रयोगबाट भाग्न थालेपछि यस भेगका किसान खुशी भएका छन् ।-