सोल – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले कोरोनाभाइरस महामारी विरुद्धको लडाइँमा आफ्नो देशलाई उच्च सफलता मिलेको बताएका छन् ।
बुधबार पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै नेता किमले यस्तो दावी गरेका हुन् । आफूहरुले कोरोनाभाइरस रोक्दै स्थिर अवस्था कायम गर्न सकेको उनको दावी छ । उत्तर कोरियाली मिडियाका अनुसार हालसम्म त्यहाँ कोरोनाभाइरसका संक्रमित कोही पनि नभएको सूचना सार्वजनिक भएको छ ।
बिबिसीका अनुसार अहिलेसम्म जम्मा ९ सय २२ जनाको मात्रै परीक्षण गरिएको थियो । तीमध्ये सबैको नेगेटिभ रिपोर्ट आएको छ । गत वर्षको अन्त्यदेखि नै उत्तर कोरियाले कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउन थालेको थियो । संक्रमण फैलिन थालेदेखि नै उत्तरले सीमा बन्द गरेको थियो । साथै जनवरीदेखि नै भाइरस नियन्त्रणका लागि तीव्र गतिमा कदम अघि सारेको थियो ।