बझाङ – शनिबार राती १ बजे केदारस्युँ गाउँपालिका–८ को मल्लेसीमा गएको पहिरोमा परेर एकै परिवारका चार सहित ६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् ।
पहिरोले २० घर पूर्ण रुपमा बगाएको र दुई घरमा क्षति पुर्याएको छ । पहिरोका कारण अरु ४५ घर जोखिममा पर्नुका साथै गाउँका करिब चार सय जना पूर्ण रुपमा विस्थापित भएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहोराले बताउनुभयो ।
पहिरोमा पुरिएका ४१ वर्षीया राममती जेठारा, उहाँका ११ वर्षीया छोरा प्रयाग जेठारा र दुई छोरीहरु १६ वर्षिया शान्ति र ७ वर्षकी अस्मिताको शव फेला परेको छ । १५ वर्षीया सन्तू जेठाराको पनि शव भेटिएको छ । यस्तै ८० वर्षीय दले जेठाराको पनि ज्यान गएको छ । यस्तै गिरिजा जेठारा शनिबार साँझसम्म बेपत्ता भएकाले उहाँको खोजी भैरहेको छ । राममतीका श्रीमान कटे जेठारा भने रोजगारीका लागि भारतमा हुनुहुन्छ ।
गाउँभन्दा करिब १ सय ५० मिटर माथि रहेको रातापड सामुदायिक वनबाट बीच गाउँमा पहिरो खसेको हो । सामुदायिक वनको बीचमा वर्षातमा मात्रै पानी आउने सानो मुहान छ ।