बाजुरा – वर्षायामको समय छ । अहिले नेपाल अधिराज्यभर आंशिक र पूर्ण वर्षा भैरहेको छ । लगातारको वर्षासँगै बाढी पहिरोको जोखिम पनि बढ्दै गएको छ ।
अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ ।
पुलमाथि पानी बग्न थालेपछि आवजावतमा जोखिम भएको बूढीगङ्गा–२ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिए ।
लगातारको वर्षाले शुक्रबारदेखि पुलमाथि पानि बग्न थालेपछि आवतजावत समस्या भएको छ । पुलमाथि पानी जाँदा त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा आउन जान निकै समस्या भएको छ ।
पुलमाथि पानी बगेपछि जतिबेला पनि पुल बग्ने सम्भावना रहेकोले आवतजावतमा समस्या भएको स्थानीय वसन्त थापाले बताए ।
लगातार वर्षाले बाजुराका अन्य झोलुङ्गे पुल पनि जोखिममा रहेका छन् । बूढीगङ्गा नदीले बाजुराको द्वारी, तिपाडा, राप्का, अछामको साँफे, बुढाबगरलगायत ठाँउका दर्जनौँ पुल उच्च जोखिममा रहेका छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।
बूढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल बगाइसककेको स्थानीय धन जैशीले बताए । कर्णालीको पिलिचौरमा रहेको झोलुङ्गे पुल बर्सातको समयमा सधैँ जोखिममा पर्ने गरेको छ । त्यो सँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् ।