काठमाडौं – महानगर यातायात, चक्रपथमा चल्ने सबैभन्दा परिचित बस कम्पनी हो । कम्पनीमा २१ सयेर सदस्यका ३९ वटा बस छन् । चैत ११ मा लकडाउन भएपछि कम्पनीले चैतको बैंक किस्ता तिर्न सकेको छैन । तिरोस् पनि कसरी ? फागुनबाटै कोरोनाको त्रासले यात्रु घटेका थिए, आम्दानी घटेर तनाव भइसकेको अवस्थामा लकडाउन भइदियो ।
बसहरु ग्यारेज गएर थन्किएका छन् । चैतयता कम्पनीले ऋणको एउटा किस्ता पनि बैंकमा हाल्न सकेको छैन । कम्पनीको कार्यालय र ग्यारेज रहेको जग्गाको बाहल बल्लतल्ल जोडजाम गरेर त तिरेको छ । तर, दिनदिनै कम्पनीको दायित्व बढ्दो छ ।
जसरी कम्पनी समस्यातर्फ जाँदैछ, कम्पनीका सदस्यहरुमाथि आर्थिक दबाव पनि बढिरहेको छ । कम्पनीका कार्यकारी प्रमुख केशव नेपाल अब केही महिना यस्तै संकट लम्बिएमा कम्पनी धरासायी हुने बताउँछन् ।
सरकारी तबरबाट तुरुन्तै समस्या सम्बोधन हुने गरी नीति र नियमहरु नआएर आफूहरुले गरेको करोडौंको लगानी ‘बालुवाको पानी’ हुने चिन्ता कम्पनीका सेयर सदस्यहरुलाई छ ।
नेपालका अनुसार बैंकहरुले सीधै दबाव दिएका छैनन् । तर, पनि पटक-पटक फोन गरेर हालखबर सोधहिरेको भन्दै उनले घुमाउरो रुपमा मानसिक दबाव सिर्जाना गरिएको बताए ।
सिटी मेट्रोलाई सकस
अहिले महानगर यातायात मात्रै हैन, साझा बसपछि पहिलोपटक त्यत्रै आकारका ठूला बस ल्याएर चलाउन थालेको सिटी मेट्रो कम्पनीको पनि ब्यथा उस्तै छ । कम्पनीका अध्यक्ष हेमेन्द्र शरेचन कम्पनीको आर्थिक अवस्था असहज अवस्थामा रहेको बताउँछन् ।कम्पनीका ३९ वटा बस छन् । यी सबै बस कम्पनी आफैंले नै बैंकमा फाइनान्सिङ गरेर निकालेको हो । ठूला बसहरुमा करिब साढे ४ करोड र मिनी बसमा ५ करोड बराबरको बैंक ऋण छ ।
तर, बैंकहरुलाई कम्पनीले किस्ता तिर्न सकेको छैन । तर बैंकहरुको फोन आएको आयै छ ।
‘द्वन्द्वकालमा चन्दा माग्ने माओवादी विद्रोहीले पनि यति धेरै तनाव दिएका थिएनन्,’ उनी भन्छन्,’बैंकहरुको फोन आतंक छ, हामीलाई यातना दिने काम भइरहेको छ ।’ बीमा कम्पनीहरुले उस्तै व्यवहार गरिरहेका छन् ।
यातायात व्यवसायीलाई कसरी कम्पनी र आफ्नो घरबारी बचाउने भन्ने चिन्ता छ । न्युन पुँजी भएका र स्वरोजगार रहेका यातायात कम्पनीका सेयर सदस्यहरुलाई त हातमुख जोड्न समस्या पर्न थालिकसकेको बताउँछन् अध्यक्ष शेरचन ।
‘यातायात क्षत्रेमा सानो-सानो पुँजी लगानी गर्नेहरु धेरै छन्, अब त्यस्ता लगानीकर्तालाई बिहान बेलुकीको छाक टार्ने समस्या पर्न लागिसक्यो,’ उनी भन्छन्,’त्यसमाथि ऋणको तनाव छ ।’