काठमाण्डौ – कर्णाली प्रदेशले विदेशमा रोजगारी गुमाएर खाली हात स्वदेश फर्किएकालाई तत्काल मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीमा जोड्ने भएको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले भारतसँगै तेस्रो देशबाट नेपालीहरु कोरोनाको कारण रोजगारी गुमेर स्वदेश फर्कने क्रम चलिरहेकाले उनीहरुलाई तत्काल रोजगारीमा जोड्न वडास्तरमै मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि चार अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।
यो वर्ष कर्णाली प्रदेशले महामारी, भोकमरी र रोजगारीलाई प्राथमिकतामा राखेको छ, प्रदेशमा कालापहाडबाट मात्रै एक लाख बेरोजगार भएर फर्कने अनुमान गरिएको छ,’ मन्त्री भन्नुभयो, ‘उहाँहरुलाई हामी आफ्नै वडामा तत्काल रोजगारीमा जोड्ने र दीर्घकालीन रोजगारीका लागि योजना बनाइरहेका छौं ।’
कर्णाली प्रदेशमा ७१८ वटा वडा रहेका छन् । यी सबै वडामा नागरिकको श्रममार्फत पूर्वाधारको काम गर्ने स्थानीय सरकारको योजना रहेको छ । यी सबै वडामार्फत स्थानीयस्तरमा नै विदेशबाट फर्कनेलाई रोजगारीमा जोड्ने पालिकाको योजना रहेको छ ।
‘हामी तत्काललाई विदेशबाट फर्कनेलाई पूर्वाधार निर्माण लगायत छनोटमा परेका योजनाहरुमा काममा जोड्ने छौं, सबै काम श्रमशक्तिबाट गराउने र नागरिककै खातामा पारिश्रमिक दिने हाम्रो योजना छ,’ सामाजिक विकास मन्त्री रावलले भन्नुभयो ।
हवाइ र पैदलबाटो हुँदै अहिले विदेशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्किरहेका छन् ।
महामारीको चपेटामा परेर फर्कनेलाई हातमा पैसा नभए पनि साथमा सीप र अनुभव हुनेलाई प्रदेशको विकासमा जोड्ने उहाँको भनाइ रहेको छ ।